![]()
काठमाडौँ । अब कुनैपनि पार्टीका नेताहरु दुइ वा दुइ भन्दा बढी ठाउँबाट उम्मेदवार हुन नपाउने भएका छन । ‘प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७४’ ले दुइ ठाउँबाट उम्मेदवार हुन पाउने प्रावधान हटाएको छ ।
संसदमा विचाराधीन विधेयकको दफा १४ मा ‘दोहोरो हुन नपाउने’ व्यवस्था छ । एक भन्दा बढी क्षेत्रमा उम्मेदवारी दिने व्यक्तिको उम्मेदवारी निर्वाचन आयोगले रद्द गर्नेछ । यसअघि बिभिन्न पार्टीका शीर्ष नेताहरु दुइ ठाउँबाट चुनाव लडदै आएका थिए । एक व्यक्ति दुवै क्षेत्रमा विजयी भएमा एक क्षेत्रबाट राजीनामा गराई निर्वाचन आयोगलाई अर्को निर्वाचन गराउनुपर्ने झन्झट थियो ।
प्रत्यक्षतर्फको उम्मेदवार समानुपातिकको बन्द सूचीमा राख्न नमिल्ने
प्रत्यक्ष प्रणालीतर्फका उम्मेदवारले समानुपातिक प्रणालीतर्फको बन्द सूचीमा समावेश हुन पाउने छैनन । समानुपातिकतर्फ एक उम्मेदवार एकभन्दा अन्य दलकातर्फबाट बन्दसूचीमा समावेश हुन पाउने छैन । यस्तै, उम्मेदवारको उमेर कम्तिमा पच्चीस वर्ष पूरा गरेको हुनुपर्ने प्रस्ताव गरिएको छ ।
वर्तमान संसद्को कार्यकाल आगामी माघ ७ गतेसम्म भएकाले तोकिएको समयभित्र निर्वाचन गराउन सरकारले यो विधेयक पेश गरेको हो ।
विधेयकमा निर्वाचनमा मतदाताले कुनै पनि उम्मेदवारलाई मत दिन नपाउने व्यवस्था पनि गरेको छ । मतदाताले कुनै पनि उम्मेदवार वा दलप्रति समर्थन छैन (नन अफ द एभोव) भनी मतदान गर्न सक्नेछ ।
विधेयकमा मतगणना पूरा हुनुअघि मतपत्र नोक्सान वा मतगणनास्थलको अनधिकृत कब्जा भएमा सम्बन्धित आयोगले मतदान केन्द्रको मतदान रद्द गरी पुनः मतदान गराउने उल्लेख छ ।
संविधानबमोजिम प्रतिनिधिसभाको २७५ संख्याका लागि १६५ प्रत्यक्ष र ११० समानुपातिक प्रणालीबाट चयन हुनेछन ।


