![]()
काठमाडौं । पहिलो चरणको स्थानीय तह निर्वाचनसंगै चर्चामा आएका साझा पार्टी र विवेकशील पार्टीबीच एकता भएको छ । बुधवार काठमाडौंमा विशेष समारोहकाबीच दुवै पार्टीबीचको एकता घोषणा गरिएको हो । एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ र चुनाव चिन्ह तराजु राखिएको छ ।
नयाँ पार्टीमा रवीन्द्र मिश्र र उज्ववल थापाको संयुक्त नेतृत्व हुनेछ । दुबै नेतालाई सहसंयोजक पद दिइएको छ । बैठकहरुको अध्यक्षता मिश्रले गर्ने सहमति भएको छ ।
एकीकृत पार्टीमा संयोजक पद भने खाली राखिएको छ । एकीकृत पार्टीमा ३४ जनाको केन्द्रीय कार्यसमिति रहने र महाधिवेशनसम्म ५९ जना पुग्ने घोषणासभामा जानकारी दिइएको थियो ।
घोषणा कार्यक्रममा बोल्दै सहसंयोजक मिश्रले अहिलेका दल र नेताहरुबाट मुलुक चल्न नसक्ने जिकीर गरे । उनले भने, ‘ सम्बृद्धिको लडाईमा अहिलेका दल र नेताहरुबाट सम्भव छैन । ’ स्थानीय चुनावमा काठमाडौं महानगरले मुहार फेर्ने मौका गुमाएपनि देशले यो अवसर गुमाउन नहुने उनको भनाइ थियो ।
काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी रन्जु दर्शना न्यौपाने र किशोर थापा दुवै जना केन्द्रीय समितिमा अटाएका छन ।
यस्तो छ केन्द्रीय समिति:
रवीन्द्र मिश्र, उज्ज्वल थापा, अनुसा थापा, गोविन्द नारायण तिमिल्सिना, निरुपमा यादव, मुमाराम खनाल, रमेश पौड्याल, सुरज आचार्य, अब्दुस मिया, अर्जुनसिंह ठकुरी, उमेद पुन, ओम अर्याल, किरणकृष्ण श्रेष्ठ, किशोर थापा, जीवन श्रेष्ठ, दिनेश प्रसाई, प्रकाशचन्द्र परियार, पुकार बम, मानवी पौडेल, रञ्जु दर्शना न्यौपाने, रमेश महर्जन, राम शाह, रेशु अर्याल, शशिविक्रम कार्की, शोभा शाक्य, सरोज धिताल, साधना राई, सुवुना बस्नेत, सोभिता परियार र ज्ञानेन्द्र निरौला। चारजना पछि थपिने छन्।


