![]()
काठमाडौ,८ साउन ।
निजी वायुसेवा कम्पनी यति एअरलाइन्सले पहिलोपटक एटीआर ७२–५०० विमान भित्र्याएको छ । काठमाडौंमा शनिबार अवतरण गरेको कल साइन नाइन–एएमएन ७२ सिटे विमान कम्पनीले रु एक अर्बको लगानीमा खरिद गरेको हो । फ्रान्सको विमान निर्माता कम्पनी एटीआरमा निर्मित उक्त विमान सिंगापुरबाट थाइल्यान्ड र थाइल्यान्डको च्याङमाई हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । सो विमान सिंगापुरको कम्पनी नर्डिक एभिएसन क्यापिटलसँग खरिद गरिएको यति एअरलाइन्सका व्यवस्थापक भीमराज राईले जानकारी दिए ।
उनकाअनुसार यो विमानले सातापछि विराटनगर, भैरहवा, नेपालगन्ज र भद्रपुर उडान थाल्नेछ । यो एटीआर विमानसँगै यतिका अब सातओटा विमान भएको छ । हाल यतिले बेलायतमा निर्मित ३० सिट क्षमताको जेटस्ट्रिम–४१ सिरिजका ६ थान जहाज सन्चालन गरिरहेको छ ।
यतिले यस वर्षभित्र थप दुई एटीआर विमान ल्याउँदैछ । अहिले खरिद गरेको कम्पनीबाटै थप दुई विमान ल्याउने तयारी भएको र एक महिनापछि अर्को विमान आउने व्यवस्थापक राईले जानकारी दिए ।


