Breaking News.... EverestOnlineKhabar
May 12, 2026

विभिन्न कार्यक्रम गरी विपी स्मृति दिवस मनाइँदै,देउवा किन भए चिन्तित….?

Loading

काठमाडौ,६ साउन ।
विभिन्न कार्यक्रम गरी नेपाली कांग्रेस र उसका भातृसंगठनहरुले आज नेपाली कांग्रेसका संस्थापक विपी कोइरालाको ३५ औं स्मृति दिवश मनाउँदैछन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनहीनता बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । राजधानीमा आयोजित वीपी कोइरालाको ३५ औं स्मृति दिवस तथा प्रजातान्त्रिक विचार समाजको साधारसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पहिलो र दोस्रो तहको स्थानीय तह निर्वाचनमा पार्टीभित्रको अनुशासनहीनताका कारण धेरै स्थानमा कांग्रेसले पराजय बेहोर्नुपरेको बताए । उनले पार्टी अनुशासन उल्लंघन गर्नेहरुलाई कडा कारबाही गर्ने चेतावनीसमेत दिए ।
प्रधानमन्त्री देउवाले पहिलो र दोस्रो स्थानीय तह निर्वाचनमा पार्टीले बेहोरेको हारको क्षति आगामी असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनबाट पूर्ति गर्न एकताबद्ध भएर लाग्न आह्वान गरे । उनले कांग्रेस एकताबद्ध र अनुशासित भएर अघि नबढे लोकतन्त्रलाई नै घाटा पुग्ने बताए । निर्वाचनका क्रममा कतिपय स्थानमा उम्मेदवारी वितरणमा पनि अन्याय भएको हुनसक्ने भन्दै उनले त्यसलाई व्यवस्थापन गर्दै लैजाने आश्वासन दिए । पार्टीलाई एकताबद्ध र अनुशासित बनाउने आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो । कांग्रेस नेता अर्जुननरसिंह केसी, सुजाता कोइरालालगायतले लोकतन्त्रको सुदृढीकरणका लागि आगामी निर्वाचनमा कांग्रेसकै जित हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवाले यस वर्षको लोकतान्त्रिक योद्धा सम्मान कांग्रेस नेता चक्र बास्तोलालाई प्रदान गरे । देउवाले ‘गिरिजाप्रसाद कोइराला विशेषांक’ समेत विमोचन गरे ।
नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३५ औं स्मृति दिवस शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरिरहेका छन् ।
नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले दुई तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व दिएका थिए । तर दुई वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद् अपदस्थ गरेपछि उनले लामो समय निर्वासन र जेलमा बिताउनुपरेको थियो । पछि उनी विदेशमा बसेर देशका लागि लड्नुभन्दा देशभित्रकै सबै शक्तिबीचको एकता महत्वपूर्ण हुने भन्दै राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए ।
विपीले प्रवर्द्धन गरेको प्रजातान्त्रिक समाजवाद र मेलमिलापको नीति अहिले पनि सान्दर्भिक मानिन्छ । विपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याएका छन् । उनका‘तीन घुम्ती’,‘मोदी आइन’, ‘हिटलर र यहुदी’,‘सुम्निमा’,‘नरेन्द्र दाइ’ र‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई वटा कथा संग्रह ‘श्वेत भैरवी’ र‘दोषी चश्मा’ प्रकाशित छन् । यस्तै सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित आत्मवृतान्त‘जेल जर्नल’ पनि प्रकाशित छ । कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.