Breaking News.... EverestOnlineKhabar
May 12, 2026

सत्तारुढ दल र राजपाबीच बैठकमै चर्काचर्की……

Loading

काठमाडौ,५ साउन ।
अघिल्ला बैठकमा झै प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहानको बैठकमा पनि संविधान संशोधन विधेयक टुंगो लगाउने आश्वासन दिँदै गर्दा राष्ट्रिय जनता पार्टी नेपालका नेताहरू बीचैमा रिसाए । प्रधानमन्त्री निवासमा भएको सत्ताघटक र राजपा नेताहरूको बैठकमा देउवाले पास–फेल जे भए पनि अब संविधान संशोधन विधेयक पेस गर्ने, अड्काएर नराख्ने बताउनासाथ राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले भनेः‘ गर्छु–गर्छु भन्ने सुन्दा–सुन्दा कान फाट्न लागिसक्यो प्रधानमन्त्रीजी ,संविधान संशोधनभन्दा पहिले क्याबिनेटले गर्नुपर्ने काम गरेर देखाउनुस् । अनि मात्रै संशोधन विधेयकको कुरा गरौं ।’
राजपा नेताले संशोधन आफ्नो बटमलाइन भए पनि त्योभन्दा पहिले आन्दोलनका दोषी ठहर गरिएकाको मुद्दा फिर्ता, सहिद परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार, अंगभंगको आजीवन हेरचाहजस्ता पूर्वसर्त कार्यान्वयन गर्नुपर्ने माग राखेका थिए । राजपा नेता राजेन्द्र महतोले भनेः‘प्रधानमन्त्री र प्रचण्डजी संशोधन विधेयक के गरौं भनेर सोध्दै हुनुहुन्थ्यो, तीनबँुदे कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको हो, गरेर देखाउनुस् भनेर हामी उठ्यौं ।’
राजपा नेताहरूले सहिद, घाइतेहरूका विषयमा सरकारले गर्नुपर्ने घोषणा तत्कालै गर्न अडान दोहोर्‍याएपछि देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुवैले चार दिनजति पर्खन आग्रह गरेका थिए । अध्यक्ष दाहालले भनेः‘विभिन्न कारणले अहिलेसम्म ढिला हुँदै आयो, अब विश्वास गर्नुहोस्, बढीमा चार दिन, त्यसभन्दा ढिला हाम्रातर्फबाट हुँदैन ।’
स्रोतका अनुसार संविधान संशोधन तत्काल टुंगो नलागे पनि आन्दोलनमा मारिएकाहरूको परिवारलाई सरकारी राहत, गिरफ्तार भएकाको रिहाइ र मुद्दा फिर्तालगायत वाचा सरकारले पूरा गरे राजपाले असोज २ मा हुने प्रदेश २ को स्थानीय चुनावमा सहभागी बन्न सक्ने संकेत दिएको छ । तर सरकारले आफ्नो पार्टीलाई चुनावी प्रक्रियाबाट बाहिरै राख्ने नियतले माग सम्बोधनमा उदासीनता देखाएको आरोप राजपा नेताहरूको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.