Breaking News.... EverestOnlineKhabar
May 12, 2026

गुटबन्दी अन्त्य नभए पार्टीको अस्तित्व समाप्त हुने माओवादी केन्द्रको निष्कर्ष……

Loading

काठमाडौ,३ साउन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र अझै गुट हाबी भएको भन्दै गुटबन्दी अन्त्य नगर्ने हो भने भविष्य नै धरापमा पर्ने बताएका छन्। स्थानीय तहको चुनावी समीक्षा र आगामी योजना तय गर्न बोलाइएको जिल्ला इन्चार्जसहित केन्द्रीय सचिवालयको विस्तारित बैठकमा सोमबार मौखिक प्रतिवेदन पेस गर्दै दाहालले माओवादी पार्टी माओवादीजस्तो नभएको भन्दै असन्तुष्टि पोखेका हुन्। शीर्ष नेताहरूबाटै गुटबन्दी चलाइएको संकेत गर्दै दाहालले व्यक्तिपिच्छे गुटबन्दी चलाउने नै भए घोषित रूपमै चलाउन चुनौती दिए।उनले भनेः‘पार्टीभित्र गुटबन्दी छैन भनियो तर अझै जीवितै रहेछ । किन लुकिछिपी चलाउनुहुन्छ, गुट नै चलाउने हो भने घोषित रूपमै चलाउनुहोस्, पार्टी बनाउने सोच नै नबनाई भत्काउने हो भने घोषित गुटबन्दी गरे भइहाल्छ।’
आफ्नै नेताहरूप्रति चर्को असन्तुष्टि पोखेका दाहालले नेताहरू असामाजिक भएको टिप्पणी गरे। कांग्रेस–एमालेका नेता दलालै भए पनि, ठेकेदार नै भए पनि समाजमा अन्तरघुलन हुन सकेको तर माओवादी जनताबीच भिज्नै नसकेकाले निर्वाचन हार्नुपरेको दाहालको भनाइ थियो ।
दाहालले माओवादी निर्वाचन हार्नुको कारण बैठकमा सुनाउँदै त्यसमा नेताहरूलाई गम्भीर समीक्षा गर्न आग्रह गरे। उनले एजेन्डा, नेतृत्व, विकासलगायत सबै माओवादीकै भए पनि जनताले भोट किन दिएनन् भनेर खोजी गर्नुपर्ने बताए। पार्टी विभिन्न तहमा विभाजन हुँदा सहिद, बेपत्ता परिवार र शुभचिन्तक निरास हुनु, पार्टी एकता गरेर क्रान्तिकारी तागत पैदा गरे पनि प्रतिक्रियावादीहरूको भण्डाफोर गर्न नसक्नु, विभाजित शक्तिले आफू जित्नभन्दा माओवादीलाई हराउन भूमिका खेल्नु, जनतामा कांग्रेस–एमालेभन्दा पृथक शक्ति माओवादी हो भनी आभास गराउन नसक्नु र बाह्य शक्तिकेन्द्रको चलखेललाई रोक्न र बुझ्न नसक्नुजस्ता कारणले चुनावमा हार्नुपरेको दाहालले बैठकमा बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.