![]()
काठमाडौ,१ साउन ।
युरिका हाइस्कुल, मनमैजुस्थित कक्षा ३ मा अध्ययनरत १० वर्षीया विनिता फुयाँल शुक्रबार अपराह्न विद्यालयबाट नेपालटारस्थित घरमा फर्किइन् । त्यसपछि घरबाट करिब १० मिटर टाढा रहेको आफ्नो रेष्टुरेन्टमा खाजा खान पुगिन् ।विनिताले खाजा खाइरहँदा दर्किन थाल्यो पानी । वर्षा रोकिएपछि उनी रेष्टुरेन्टबाट घरतर्फ हिँडिन् । ठूलो वर्षा भएकाले सडकमा भेल उर्लिरहेको थियो । पानीले नहरजस्तै बनेको सडकमा रहेको नाली उनले देखिनन् । नालीको भेलले उनलाई बगायो । भेलले चमती खोलामा पुर्याएपछि आफन्त र प्रहरीले उनको उद्धार गरे ।
उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएकी उनको साँझ ६ः३० बजे मृत्यु भयो । शुक्रबार अपराह्न भीषण वर्षा भएका कारण उपत्यकाका अधिकांश सडक जलमग्न थिए, सडकमा भेल उर्लेको थियो । वृहस्पती विद्यासदन, नक्सालमा पढ्ने विद्या सापकोटा (१३) गाडीबाट सामाखुसी चोकमा ओर्लिन । सडक जलमग्न देखेपछि आत्तिँदै उनी रानीबारी जाने भित्रि सडकतिर लागिन् । नाली थियो बीचमा । पानी उर्लेर बगिरहेको थियो । सत्या त्यहीँ नालीमा खसिन् र भेलले उनलाई ह्युम पाइपभित्र पुर्यायो । धन्न वरिपरिका मान्छेले देखे र उनको ज्यान जोगियो ।
माथिका दुई घटनाले राजधानीको सडकको दूरावस्थाको चित्र देखाएको छ । काठमाडौ महानगरपालिकाका मेयर र नवनिर्वाचित जनप्रतिनिधि ठुला ठुला गफ गर्छन,स्मार्ट सिटीको कुरा गर्छन तर निर्वाचित भएको २ महिना पुगिसक्दा पनि कुनै नयाँ कामको शुरुवात गर्न सकेका छैनन् । बैठक बस्छन्,ठुला ठुला योजनाका सपना बुन्छन् । ती सपनाका योजना मिडियामा प्रकाशन तथा प्रशारण गराउँछन् । भत्ता बचाउँछन् । नजप्रतिनिधिहरुको दैनिकी बडो आनन्ददायी रुपले बितेको छ । जनताको शास्ती जनतासंगै छ, केहि परिर्वतन भएको छैन् । जनप्रतिनिधिको यस्तै तालले जनताको जिवनमा केहि परिर्वतन आउनेवाला छैन् ।


