![]()
काठमाडौ,२७ असार ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहमतिविपरीत सत्ता गठबन्धनद्वारा पुनः संविधान संशोधनको चर्चा चलाएको भन्दै त्यसलाई पारित हुन नदिइने स्पष्ट पारेको छ । पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा सोमबार बसेको स्थायी कमिटी बैठकले यही असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अनेकौँ प्रतिकूलता भए पनि पार्टी पहिलो शक्तिका रुपमा स्थापित हुन सकेकामा सन्तोष व्यक्त गरेको पार्टी सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एमालेले निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन केन्द्रमा पठाउन निर्वाचन सम्पन्न भएका प्रदेशका पार्टीका सम्बन्धित जिल्ला कमिटीलाई निर्देशन दिएको छ । पार्टीले आगामी असोज २ गतेका लागि तय गरिएको प्रदेश नं २ को स्थानीय तह निर्वाचन निष्पक्ष, शान्तिपूर्ण, भयरहित र स्वच्छ वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचनको तयारीमा व्यवस्थित ढङ्गले लाग्न मातहत कमिटीलाई निर्देशन दिएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले सम्बन्धित जिल्ला कमिटीको सुझावका आधारमा जिल्ला समन्वय समितिका प्रमुखरउपप्रमुखको नाम १५ दिनभित्र पार्टी केन्द्रमा सिफारिस गरी पठाउन प्रदेश सङ्गठन कमिटीलाई निर्देशित गरेको छ । साथै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रयोजनका लागि आगामी साउन १ गतेदेखि मतदाता नामावली सङ्कलन गर्ने सूचना निर्वाचन आयोगबाट जारी भएका सन्दर्भमा सोहीअनुसार योजनाबद्ध रुपमा लाग्न समेत मातहत कमिटीलाई निर्देशन दिइएको विज्ञप्तिमा उख्लेख छ ।


