![]()
काठमाडौ,२६ असार ।
झन्डै दुई वर्षदेखि एक अर्काबीच शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेका प्रमुख विपक्षी एमाले र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताबीच राजधानीको एक रिसोर्टमा औपचारिक र सकारात्मक वार्ता भएको छ। संविधान निर्माणमा मधेसविरोधी अडान लिएको भन्दै एमालेसँग शत्रुतापूर्ण व्यवहार प्रदर्शन गरिरहेको राजपाले सत्तापक्षीय गठबन्धन (कांग्रेस–माओवादी केन्द्र) पनि आफ्ना मागप्रति संवेदनशील नदेखिएको विश्लेषणसाथ एमालेसँग सम्बन्ध सुधारमा लागेको जनाएको छ।
राजपा र एमालेका दोस्रो तहका नेताबीच संविधान संशोधन, २ नम्बर प्रदेशमा तेस्रो चरणको स्थानीय तह निर्वाचन र सत्तासमीकरणलगायत विषयमा छलफल भएको बैठकमा सहभागी नेताले बताएका छन्। छलफलमा एमालेबाट उपमहासचिव घनश्याम भुसाल, युवा नेताद्वय रवीन्द्र अधिकारी र डा।राजन भट्टराई तथा राजपाका नेता लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल र मनीष सुमन सहभागी छन्।
स्थानीय तह निर्वाचनबाट एमाले पहिलो पार्टी बनेकाले पहिलो दलसँग तिक्ततापूर्ण नभई सम्बन्ध सुधार गरी अघि बढ्नुपर्ने छिमेकी भारतको सत्तापक्षको दृष्टिकोणमा आएको परिवर्तनपछि नै राजपाका नेताहरू एमालेसँग सम्बन्ध सुधारमा लागेको राजनीतिक विश्लेषक बताउँछन्। एमालेको सहयोगविना संविधान संशोधन प्रस्ताव संसद्बाट पारित हुनसक्ने अवस्था नरहेकाले पनि एमालेको सहयोगका लागि राजपाका नेताहरूले आग्रह गरिरहेको एमाले नेताहरूले बताएका छन्।


