![]()
विराटनगर,२० असार ।
विराटनगर महानगरको मत गणनाका लागि राजधानीबाट कर्मचारीको टोली पुगेको छ । दिनरात ५ दिन मत गणना गर्दासमेत १४ हजारको हाराहारीमा मात्र गणना भएपछि काठमाडौंबाट टोली पुगेको हो । सोमबार दिउँसो आएको ९ जनाको टोलीले गणना पनि सुरु गरिसकेको निर्वाचन आयोगले जनाएको छ । गणना ज्यादै सुस्त भएको गुनासो आएपछि टोली बोलाइएको हो ।‘यहाँका कर्मचारीले धेरै ढिलो गरी गणना गरे, मोरङका प्रजिअ यज्ञराज कोइरालाले भनेः‘यहाँको एउटा टोलीले दिनभरमा ३ सयदेखि ४ सय गणना गर्दो रहेछ । काठमाडौंबाट आएको एउटा टोलीले दिनमा हजारदेखि १२ सयसम्म गणना गर्दो रहेछ । आशा गरौं अब चाँडो हुन्छ ।’
आयोगको केन्द्रीय कार्यालयवाट एक उपसचिवसहित ११ अधिकृतको नाम आए पनि सोमबार ९ जना आएर काम थालेका छन् । उनीहरू पहिलो चरणअन्तर्गत काठमाडौं महानगरपालिकाको गणना गरेका हुन् । ७ ठाउँमा महानगरपालिका वडा नम्बर १,२,३,४,१६,१७ र १८ नम्बरको गणना भइरहेको छ । सोमवार वडा नम्बर १ र १६ को परिणाम घोषणा भएको छ । वडा नम्बर १ मा ४ हजार ५ सय ११ र १६ नम्बर वडामा २ हजार ७ सय ११ मत झरेको थियो । आयोगले सोमवार साँझ सम्म १४ हजार ५ सय मतगणना भइसकेको जनाएको छ ।
क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले गणनामा सघाउन सार्वजनिक सूचना गरी सरकारी कर्मचारीलाई सहयोगको आहवान गरे पनि कर्मचारीले चासो देखाएका छैनन् । गर्मी र लामखुट्टेले सताउने हुदा कर्मचारीहरू गणना वस्न चाहदैनन् भने बसेकाले पनि सोचे जस्तो चाडो गन्न सकेका छैनन् । मंगलवार बिहानसम्ममा वडा नम्बर २, १८ र ४ को नतिजा आउने आयोगले जनाएको छ ।


