![]()
काठमाडौ,९ असार ।
बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीको सरुवा गरेको छ । जब मन्त्रिपरिषद् बैठकमा निर्वाचन आयोगका सचिव मैनालीको सरुवाको लागि छलफल हुँदै थियो सचिव मैनाली भने आयोगमा एकपछि अर्को बैठक गरिरहेका थिए, चुनावसम्बन्धी निर्देशनहरु दिइरहेका थिए । मन्त्रिपरिषदले निर्वाचन आयोगलाई सहयोग गर्ने नाममा दोस्रो चरणको चुनावी प्रक्रिया चलिरहेका बेला मैनालीलाई सरुवा गर्यो । सरकारले सुरुमा त यो खबर केही घण्टा लुकायो पनि । तर, साँझतिर सार्वजनिक भयो ।
सचिव मैनालीले साँझ ७ बजेसम्म आयोगमा बसेर काम गरे । आज पनि रवाना पत्र बुझेपछि मात्रै आयोग छाड्ने मैनालीको तयारी छ । स्रोतका अनुसार चुनावी प्रक्रिया चलिरहेकै बेला भएको सचिव मैनालीको सरुवा आयोग पदाधिकारी र सचिवालयको द्वन्द्वको उत्कर्ष हो ।सचिवको सरुवाका लागि आयोगका पदाधिकारीहरु प्रधानमन्त्री शेरबहादुर देउवाकहाँ डेलिगेशन नै गएका थिए । र, उनीहरुले मैनालीमाथि आरोप लगाएका थिए, असहयोग गरे । प्रधानमन्त्री शेरबहादुर देउवाकै प्रस्तावमा अन्ततः बिहीबार सचिव मैनालीको सरुवा भएको छ ।
निर्वाचन आयोगका पदाधिकारीहरुले निर्वाचन सामाग्री भन्दा महंगा गाडी किन्न चाहेका थिए । तर, मैनालीले त्यो निर्णयलाई रोके । उनले गाडी निर्वाचन सामाग्री होइन, आर्थिक अनुशासन उल्लंघन गर्दिन भन्ने अड्डी लिए । सचिव मैनालीले आफूले गाडी किन्ने हो भने सार्वजनिक खरिद ऐनको प्रक्रिया पूरा गर्नुपर्छ भनेको स्वीकार गरे । उनले भनेः‘निर्वाचन सामाग्री भनेर गाडी किन्न मिल्दैन ।’ विलाशी गाडी किन्न सहमति नदिएपछि प्रमुख आयुक्त र आयुक्तहरुको दवावमा आफुलाई मन्त्रिपरिषद्ले सरुवा गरेको मैनालीको भनाई छ । आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले तीनवटा गाडी प्रयोग गर्दै आएका छन् । अर्का एक आयुक्तले २ र अन्यले एक एक गाडी सुविधा लिएका छन् ।


