![]()
काठमाडौ,९ असार ।
दोस्रो चरणको निर्वाचनको तिथि नजिकिँदै गर्दा कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरु आफैं मैदानमा ओर्लिएर भोट माग्न थालेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा चुनाव सकेरमात्रै काठमाडौं र्फकने गरी कैलाली लगायत प्रदेश नम्बर ७ का जिल्लामा भोट माग्न हिँडेका छन् । त्यसैगरी पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड पनि बाँके जिल्लाका स्थानीय तहमा भोट माग्दै हिँडेका छन् ।पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली दमकका वडा वडामा भोट माग्न पुगेका छन् । उनी जिल्लाका प्रायः सबै स्थानीय तहमा सामान्य कार्यकर्ताले जसरी नै अहोरात्र खटिएका छन् ।
प्रमुख दलका शीर्षनेताहरु आफू उम्मेदवार हुँदाको भन्दा बढी खटिएका छन् । शीर्ष नेताहरुको खटाईले स्थानीय चुनावलाई संसदको चुनाव भन्दा पनि महत्वपूर्ण पर्व बनेको आभाष हुन्छ । दलहरुले चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न पार्टीका शीर्ष नेताका साथै जनतालाई प्रभावित पार्ने लोकप्रिय र प्रभावशाली युवा नेताहरुलाई चुनाव अभियानमा खटाएका छन् । दोस्रो चरणको स्थानीय चुनाव जित्दै पर्ने दबावमा छन् प्रमुख दलका शीर्षनेताहरु । पहिलो चरणको चुनावमा एमालेभन्दा २२ वटा स्थानीय तह कम जितेर दोस्रो भएको कांग्रेसले दोस्रो चरणको चुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । यसैले गर्दा प्रधानमन्त्री देउवा आफैं सुदुर पश्चिममा खटिएका हुन् । पहिलो चरणमा दुई महानगरपालिका र एक उपमहानगरपालिकासहित अधिकांश नगरपालिका जिते पनि गाउँपालिकामा कांग्रेसको बराबरीमा रोकिएको एमालेले पनि दोस्रो चरणमा पहिलो दलका रुपमा कायम रहनुपर्ने बाध्यतामा छ ।
पहिलो दल बन्नका लागि एमाले अध्यक्ष केपी ओलीलाई आफ्नो गृहजिल्लामा जीत हात पार्न जरुरी छ । झापा, मोरङ र सुनसरीमा नतिजा आफ्नो पक्षमा पार्नुपर्ने बाध्यतामा छ एमाले । पहिलो चरणमा तेस्रो भएको माओवादी केन्द्रले दोस्रो चरणमा पहिलेको भन्दा नजितामा अझ सुधार गर्नका लागि शक्ति केन्द्रित गरेको छ । पहिलो चरणको चुनाव हुँदा प्रधानमन्त्री रहेका कारण चुनावी अभियानमा खटिन नपाएका अध्यक्ष प्रचण्डले दोस्रो चरणको चुनावमा एकै दिनमा ५ वटासम्म चुनावी सभालाई सम्बोधन गरिरहेका छन् ।
चुनाव हुन एक सातामात्रै बाँकी रहँदा कांग्रेस, एमाले र माओवादीका शीर्षनेताहरु देश दौडाहामा लाग्नुको कारण यही हो कि चुनावी नतिजा आफ्नो पक्षमा पार्नका लागि अब उनीहरुसँग एक सातामात्रै समय छ । साना पार्टीका शीर्ष नेताहरुमा पनि तीनदलका नेतामा जस्तै हुटहुटी देखिएको छ । राप्रपा अध्यक्ष कमल थापा, फोरम अध्यक्ष उपेन्द्र यादव, नयाँ शक्तिका बाबुराम भट्टराई लगायतका नेताहरु पनि पार्टी जिताउने अभियानमा खटिएका छन् ।


