![]()
एजेन्सी,७ जेठ ।
इरानमा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति हसन रुहानी पुनः निर्वाचित भएका छन् । २ करोड ६० लाखभन्दा बढी मत गणना हुँदा उनले आधाभन्दा बढी मत प्राप्त गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ ।
सरकारी टेलिभिजनले रुहानीलाई बधाई दिंदै उनले ५८ प्रतिशतभन्दा बढी मत पाएको जनाएको हो । रुहानीका प्रतिस्पर्धी इब्राहिम राइसीले भने ३९ प्रतिशत मत प्राप्त गरेका छन् । उनले चुनावमा अनियमितताको आरोप लगाएका छन् । मतदानको समय पाँच घण्टा बढाएर स्थानीय समय अनुसार मध्यरातसम्म लम्ब्याइएको थियो । यसले गर्दा मतदान प्रतिशत बढेर ७० प्रतिशत पुगेको थियो ।
करिब ४ करोड मतदाताले मतदान गरेको इरानी आन्तरिक मन्त्रालयले जनाएको छ । मध्यमार्गी विचारधाराका रुहानीले सन् २०१५ मा अमेरिकालगायतका मुलुकसँग आणविक सम्झौता गरेका थिए । तर, वर्तमान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्ववर्ती ओबामा सरकारसँग गरिएको उक्त सम्झौताको विरोध गरेका छन् ।


