![]()
बालेन्द्र साहले बनाउन लागेको प्रस्तावित सरकारको स्वरूप परम्परागतभन्दा भिन्न हुने स्रोतले जनाएको छ । सरकारको आकार सानो बनाउने र मन्त्री नियुक्त गर्दा राजनीतिक भागबन्डाभन्दा पनि ‘विज्ञता’ (Expertise) लाई मुख्य आधार बनाउने साहको योजना छ ।
यस विषयमा साहले रास्वपा सभापति रवि लामिछानेसँग प्रारम्भिक छलफल गरिसकेका छन् । मन्त्रीमण्डलमा कस्ता व्यक्तिहरूलाई समेट्ने भन्नेबारे उनले आफ्नो कोर टोलीसँग पनि निरन्तर परामर्श गरिरहेका छन् ।
सांसद अभिमुखीकरणमा बालेन्द्र अनुपस्थित, सरकार निर्माणमै केन्द्रित
सरकार गठनको व्यग्र तयारीका कारण बालेन्द्र साह पार्टीद्वारा आयोजित सांसद अभिमुखीकरण कार्यक्रममा सहभागी हुन सकेका छैनन् । हिजो सुरु भएको उक्त कार्यक्रमको आज समापन हुँदैछ ।
स्रोतका अनुसार, “उहाँ सरकारमा जाने टोली (टीम) निर्माण र मन्त्रालयको कार्ययोजना बनाउन अत्यन्त व्यस्त हुनुहुन्छ, त्यसैले आजको समापन कार्यक्रममा पनि उहाँ सहभागी हुने सम्भावना न्यून छ ।”
सभापति लामिछानेले सम्बोधन गर्ने, स्वास्थ्यमा समस्या
हिजोको उद्घाटन सत्रमा सभापति रवि लामिछाने र बालेन्द्र साह दुवै अनुपस्थित थिए । सभापति लामिछाने केही समयदेखि अस्वस्थ रहेका छन् । यद्यपि, आज कार्यक्रमको समापन सत्रलाई उनले सम्बोधन गर्ने तालिका छ । पूर्ण रूपमा स्वस्थ नभए पनि पार्टीको महत्वपूर्ण कार्यक्रम भएकाले उनी उपस्थित हुन लागेका हुन् ।
नयाँ सरकार गठनका लागि आवश्यक अंकगणित र राजनीतिक सहमतिका लागि पर्दा पछाडि विभिन्न चरणमा छलफल भइरहेका छन् । बालेन्द्र साहको आगमनले सत्ता समीकरणमा ठुलो हेरफेर आउने अपेक्षा गरिएको छ । विशेष गरी सुशासन, विकास र सेवा प्रवाहलाई केन्द्रमा राखेर यो ‘सुदृढ सरकार’ को अवधारणा अघि सारिएको बुझिएको छ ।


