![]()
काठमाडौं । सरकारले यस वर्षको दसैंका लागि अग्रिम टिकट बुकिङ यही २४ गतेबाट खोल्ने भएको छ । दसैं मनाउन राजधानीबाहिर जाने सर्वसाधारणको सहजताका लागि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो ।
यातायात क्षेत्रमा व्यवसायीको एकाधिकार हटाउन चैत १८ मा जारी गरेको नयाँ निर्देशिकापछि सरकारले पहिलो पटक अग्रिम बुकिङ टिकट खोल्न लागेको छ । सिन्डिकेट हटेपछि पुराना यातायात समिति हटिसकेका कारण उपत्यका बाहिरिने गाडीको संख्यामा केही कमी हुने अनुमान गरिएको छ ।
तराई क्षेत्रका फराकिला सडकमा प्रालिमा दर्ता भएका सुविधासम्पन्न सवारी सञ्चालन गरिए पनि यातायात प्रालिहरुले पहाडी जिल्लासम्म पुग्ने सवारी सञ्चालन नगरेका कारण गाडीको संख्यामा कमी देखिने भएको हो । उपत्यकाका ३ जिल्लामा अध्ययन, व्यापार र विभिन्न पेशा, व्यवसाय गरी बसेका करिब ५० लाख सर्वसाधारणमध्ये धेरैजसो दसैं मनाउन बाहिरिने हुँदा देशका विभिन्न जिल्लाबाट उपत्यका आउने करिब ३ लाख ५० हजार सार्वजनिक सवारीको संख्याले यात्रुको चाप धान्न नसक्ने आकलन यातायात व्यवस्था विभागको छ ।
सरकारले यातायात क्षेत्रको सिन्टिकेट सैद्धान्तिक रुपमा हटाए पनि यात्रु दुर्घटना बीमा गाडी धनी, सरकार वा बैंक कसले बेहोर्ने भन्नेमा स्पष्ट कानुनी व्यवस्था नभएका कारण बैंक, वित्तीय संस्था र नयाँ व्यवसायीलाई पनि सवारीसाधनमा लगानी गर्न अन्योल उत्पन्न भएको बताइएको छ । यातायात व्यवसायीले २४ गतेबाट सरकारले खोल्न लागेको अग्रिम बुकिङ टिकटबारेमा थप छलफल हुनुपर्ने माग राखेका छन् । सिन्डिकेट हटाए पनि यातायात व्यवसायीलाई स्वतन्त्र रुपमा सवारी सञ्चालन गर्न अप्ठ्यारोे पारेको भन्दै उनीहरुले असन्तुष्टि जनाएका छन् ।


