![]()
काठमाडौं । संघीय संसदमा मन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम सुरु गरेको छ। प्रतिनिधिसभा सञ्चालन नियमावलीको परिच्छेद ८ ले गरेको व्यवस्था अनुसार सोमबारदेखि प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको हो।
नियमावलीको परिच्छेद ८ ले नेपाल सरकारको उत्तरदायित्वभित्रको सार्वजनिक महत्वको कुनै पनि विषयमा बैठकमा प्रश्न सोध्न सकिने व्यवस्था गरेको छ। प्रश्नोत्तरको व्यवस्थाको कार्यान्वनय भएको पहिलो दिन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतका विषयमा सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलसंग प्रश्न सोधेका छन ।
प्रश्नोत्तरको सुरुमै नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले बजेट बक्तव्यको बुँदा नम्बर ४९ मा आर्थिक रुपमा बिपन्न समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च, प्राविधिक तथा व्यवसायिक अध्ययनका लागि ५ प्रतिशत व्याज अनुदानमा शैक्षिक कर्जा उपलब्ध गराउने भनिएको र सो को कार्यान्वयनको लागि मन्त्रालयले आवश्यक प्रबन्ध कहिले सम्म मिलाउँछ ? भनि प्रश्न गरे।
सांसद गौतमको मौखिक प्रश्नको उत्तर दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले उच्चशिक्षा अध्ययनका लागि र्निव्याजी र सहुलितपुर्ण श्रृण प्रवाह गर्नका लागि कार्यविधि तयार भइसकेकाले पहिलो चौमासिकमा नै कार्यविधिकलाई अन्तिम रुप दिने तयारीमा मन्त्रालयल लागिरहेको स्पष्ट पारे।
उच्च शिक्षाका कुन कुन विषयलाई यस कार्यक्रम अन्र्तगत सम्बोधन गर्ने भन्ने विषय चाहिँ कार्यविधिले नै टुंगो लगाउने उहाँले स्पष्ट पारे। कार्यक्रमलाई अघि बढाउनका लागि अर्थमन्त्रालयसंग पनि समन्वय आवश्यक रहेकाले अर्थसंगको समन्वयन पछि उच्च शिक्षाका विषय किटान गरिने उनले बताए। उनले सस्तो लोकप्रियताका लागि मात्रै सफ्टलोनको योजना नल्याईएकाले कार्यान्वयन हुनेमा विश्वस्त तुल्याए।
सांसद गौतमको प्रश्नमा सम्बन्धीत मन्त्री पोख्रेलले जवाफ दिएपछि सांसदहरु प्रेम सुवाल, विरोध खतिवडा, तेजुलाल चौधरी, राजेन्द्र कुमार केसी, अमरेश कुमार सिंह लगायतले पुरक प्रश्न राखेका थिए।


