Breaking News.... EverestOnlineKhabar
July 11, 2026

Loading

बीबीसी । अमेरिकाको पेन्सिल्भेनियाका अधिकारीहरूले त्यहाँको रोमन क्याथलिक गिर्जाघरले वर्षौँदेखि बालबालिकामाथि हुँदै आएको यौनशोषणका सयौँ घटनाहरू ढाकछोप गर्न खोजेको बताएका छन्। एउटा बृहत् न्यायिक समितिले छानबिनपछि तीन सय इसाई क्लर्जी र एक धर्मगुरुको पनि नाम उल्लेख गरी १४ सय पृष्ठको प्रतिवेदन प्रकाशित गरेको छ।

सो प्रतिवेदनमा छवटा धार्मिक प्रदेशका एक हजारभन्दा बढी बालबालिका र किशोरकिशोरीहरू उनीहरूबाट यौन उत्पीडनको सिकार भएको जनाइएको छ। उजुर परेका कतिपय घटनाका कागजपत्र हराएको र केही पीडितहरू मुद्दा दायर गर्न डराएका कारण वास्तविक पीडितको सङ्ख्या निकै धेरै हुन सक्ने एउटा न्यायिक समितिले बताएको छ।

पीडितहरूलाई नङ्ग्याउने, पिट्ने र बलात्कार गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ। अठार महिनाका बच्चादेखि किशोरीहरू गिर्जाघरका क्लर्जी र धर्मगुरुको दुर्व्यवहारमा परेको विवरण सो समितिले दुईवर्षे अनुसन्धानको क्रममा भेटिएको छ।

तर त्यस्ता घटना र तिनमा संलग्न क्लर्जी तथा धर्मगुरुका गतिविधिहरू लुकाउने र कसैले विरोध गरे भनेपनि उनीहरूको बचाउमा गिर्जाघरका उच्चपदस्थअधिकारीहरू लागेको बृहत् इजलासको आरोप छ।

निकै लामो समयअघिका कैयौँ मुद्दाहरूमाथि कानुनी कारबाही गर्न गाह्रो भएको अधिकारीहरूको भनाइ छ। पेन्सिल्भेनिया राज्यका महान्यायाधिवक्ता जोस साफिरोले बालबालिकाको यौनशोषणलाई गिर्जाघरका अधिकारीहरूले निरन्तर र जानीजानी खेल वा कुस्ती भनी हल्का रूपमा टिप्पणी गरेको बताएकी छन्।

धेरै पीडितहरूका अनुसार लट्ठाउने औषधि दिएर वा अरू किसिमले प्रभावित पारेर उनीहरूको शोषण गरिएको थियो। केहीले आफूसँग दुर्व्यवहार भएको कुरा परिवारका सदस्यलाई सुनाउँदा उल्टै कुटाइ खानुपरेको बताएका छन्। पेन्सिल्भेनियामा झन्डै ३० लाख क्याथोलिकहरू बसोबास गर्छन्।

सो प्रतिवेदनमा सयौँ व्यक्तिको नाम उल्लेख गरिएको छ। तर संवैधानिक अधिकार उल्लङ्घन हुने भन्दै केही नाममा संशोधन गरिएको छ। महान्यायाधिवक्ता जोस साफिरोले ती संशोधित नामहरू हटाइने बताएका छन्। तर सरकारी अधिकारीहरूले भने अनुसन्धान जारी रहेको र अझ धेरै मुद्दाहरू बाहिर आउन सक्ने जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.