Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सरकार र डा.केसी पक्षीय वार्ताटोलीबीचको वार्ता पटक–पटक विफलःडा. केसीको स्वास्थ्य जटिल

Loading

जुम्ला,साउन ।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ दिनदेखि आमरण अनसनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। सेप्सिसको उच्च जोखिममा रहँदै आएका डा केसीको श्वासप्रस्वासमा समेत समस्या देखिन थालेको उनको हेरचाहमा संलग्न चिकित्सकहरुले जनाएका छन्। मंगलबार उनको श्वासप्रस्वासमा निकै समस्या देखिएपछि अक्सिजनको सहायताले अवस्था सामान्य बनाइएको थियो।
डा केसीको हेरचाहमा संलग्न डा.धीरज गुरुङका अनुसार रगतमा अक्सिजनको मात्रा ६०, श्वासप्रश्वासको गति ४० र मुटुको गति १२० को हाराहारी छ। मुटुको चाल परिवर्तन भइरहेकाले यसले खतराको संकेत गरेको डा गुरुङ बताउँछन्। केसीले औषधि लिन नमानेका कारण पनि नसामा संक्रमण भइरहेको छ। उनको स्लाइन चढाइएको हात सुन्निएको छ। उनलाई दिनहुँजसो फिजियोथेरापीमार्फत अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल डाइरेक्टर डा पूजन रोकायाका अनुसार अस्पतालले इमर्जेन्सी म्यानेजमेन्टका लागि उपकरण र औषधिहरु तयारी अवस्थामा राखिएको छ।
यसैबीच, दुई दिनयता सरकारी वार्ता टोली र डा गोविन्द केसी पक्षबीच पटकपटक भएको वार्ता विफल भएको छ। सरकारी टोली गम्भीर नदेखिँदा वार्ता फलदायी हुन नसकेको डा केसी पक्षका वार्ता टोलीका संयोजक डा अभिषेकराज सिंहले बताए।
मंगलबार बिहान भएको वार्ता पनि निष्कर्षविहीन भएको थियो। सोमबार रातिको वार्तामा पहिलो बुँदामै कुरा नमिलेपछि वार्ता मंगलबार पुनः गर्नेगरी स्थगन भएको थियो।
डा केसीको मागमा वार्ता गर्न सोमबारको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सचिव खगराज बरालको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरेको थियो। वार्तामा सरकारका तर्फबाट शिक्षा सचिव बराल, गृह मन्त्रालयका सहसचिव केदार न्यौपाने र स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहभागी थिए। डा केसीका तर्फबाट डा सिंह, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकाश अर्याल र नेपाल चिकित्सक संघका प्रतिनिधि सहभागी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed