![]()
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले देश विकास गर्न खोज्दा विकास विरोधीले अधिनायकवाद लाद्न खोजेको भन्दै हल्ला गरेको बताएका छन् । मंगलबार कोटेश्वर महादेवस्थानमा निर्माण गरिएको मदन भण्डारी स्मृति पार्कको उद्घाटन गर्दै उनले भने, ‘मुलुकलाई थितिमा चलाउन खोज्दा अधिनायकवाद लाद्न खोज्यो भनेर हल्ला गरेका छन् । अधिनायकवाद होइन अहिलेको सरकारलाई साँच्चै सरकार जस्तो चलाउन खोजिएको मात्रै हो ।’
प्रधानमन्त्री ओलीले जनतालाई सरकार छ भन्ने अनुभूति दिलाउन सरकारले बेथितिलाई ट्र्याकमा ल्याएर काम गरिरहेका बताए । उनले अब सडकमा जताततै बन्द हड्दान गर्न नदिने दोहोर्याउँदै भने, ‘पहिला तिमीहरुले पनि सडक बन्द गरेका थियौ भन्नेलाई मेरो जवाफ छ- त्यतिबेला निरंकुशता र राजतन्त्र ढाल्न गरेका थियौं । अहिले त्यो स्थिति छैन । त्यसैले जताततै बन्द हड्ताल गरेर जनतालाई दुःख दिन पाइन्न ।’
प्रधानमन्त्री ओलीले मदन भण्डारी एउटा पार्टीको मात्रै नेता नभएर देशकै नेता भएको उल्लेख गरे ।


