![]()
वैदेशिक रोजगारीमा रहेका आफन्तले पठाएको रकम निकालिदिने बहानामा सर्वसाधारणको नागरिकता दुरुपयोग गरी अनलाइन ठगी गर्ने एक संगठित गिरोहलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
लामो समयदेखि योजनाबद्ध रूपमा ठगी धन्दा चलाउँदै आएका ६ जनालाई जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो।
रेमिट्यान्सको बहाना ,प्रहरीका अनुसार यो गिरोहले विशेष गरी ग्रामीण भेगका सोझा साझा नागरिकहरूलाई निशाना बनाउने गरेको थियो। वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यले पठाएको पैसा (रेमिट्यान्स) झिक्नका लागि सहयोग गरिदिने भन्दै उनीहरूले स्थानीयक
सक्कल नागरिकताको फोटो,सम्बन्धित व्यक्तिको फोटो,संकलन गर्ने गरेका थिए। प्राप्त गरेका ती कागजातहरूको प्रयोग गरी उनीहरूले विभिन्न डिजिटल वालेट (e-wallets) हरूमा नक्कली खाता खोल्ने र त्यसैमार्फत अवैध वित्तीय कारोबार तथा अनलाइन ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।
कसरी हुन्थ्यो ठगी ? पक्राउ परेका व्यक्तिहरूले अरूकै नामको डिजिटल वालेट प्रयोग गरेर चिठ्ठा परेको बहाना गर्ने, सामान सस्तोमा पठाइदिने प्रलोभन देखाउने वा अन्य विभिन्न डिजिटल ठगीका माध्यमबाट रकम संकलन गर्ने गर्दथे। पैसा आफ्नो खातामा नआएर सर्वसाधारणको नाममा खोलिएको ‘फेक’ खातामा जाने भएकाले उनीहरू कानुनी कारबाहीबाट जोगिँदै आएका थिए।
“सर्वसाधारणको विश्वास जितेर उनीहरूको पहिचान चोरी गर्नु र त्यसलाई अपराधमा प्रयोग गर्नु गम्भीर विषय हो। यस गिरोहले लामो समयदेखि यसरी नै सर्वसाधारणलाई जालमा पारेको देखिन्छ,” धनुषा प्रहरीले जानकारी दिएको छ।
प्रहरीको आग्रह र सचेतना,पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको र उनीहरू विरुद्ध ठगी तथा कीर्ते सम्बन्धी कसूरमा मुद्दा चलाइने तयारी छ। प्रहरीले आफ्नो व्यक्तिगत कागजपत्र, नागरिकता र फोटो अपरिचित व्यक्तिलाई नदिन वा काम सकिएपछि त्यसको दुरुपयोग हुन नदिन विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।


