![]()

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वर्गीय प्रदीप गिरि पछि परेको समाजको उत्थानको पक्षमा लाग्ने व्यक्ति गुमाउँदा आफू निकै दुखित भएको बताएका छन्। गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न मेडिसिटी अस्पताल पुगेका उनले स्वर्गिय गिरि कल्याणकारी राज्यको पक्षधर रहेको समेत बताए।
नेता गिरि एक तीक्ष्ण बुद्धि, बौद्धिक व्यक्तित्व, अध्ययनशील, राजनीति बुझेको लोकपृय नेताका रुपमा आफुले पाएको भन्दै पूर्वराष्ट्रपति यादवले गिरिबाट नेपली राजनीति र समाजले सिक्ने कुराहरु धेरै भएको बताए ।
बीपी र गणेशमानपछि नेपाली भाषी नेतामा गिरि तराईमा अत्यन्तै लोकप्रिय रहेको समेत डा. यादवले बताए ।
‘उहाँ राष्ट्र र राजनीति बुझेको मानिस, सम्पूर्ण देशलाई बुझेको मानिस, सबैको विचारका अध्येता र अध्ययनशील व्यक्ति हो’, यादवले भने।
काँग्रस तथा प्रतिनिधि सभा सदस्य गिरिको ७६ बर्षको उमेरमा गएराती उपचारकै क्रममा ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो । भारतमा क्यान्सरको उपचार गराएर फर्किएका गिरि स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । गिरिको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ ।


