Breaking News.... EverestOnlineKhabar
June 26, 2026

बन्द भएको १० मिनेटमै सडक खुलाइने:राजमार्गमा २०-२० किलोमिटरमा सुरक्षा पोस्ट

Loading

कुनै पनि कारणले राजमार्ग अवरुद्ध भए १० मिनेटभित्र खुलाउने योजना सरकारले कार्यान्वयनमा ल्याएको छ । विभिन्न बहानामा राजमार्ग अवरोध गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न र प्रशासनलाई सहज रूपमा काम गर्न गृह मन्त्रालयले नयाँ कार्यविधि लागू गरेको हो । कार्यविधिअनुसार राजमार्गमा २०–२० किलोमिटरको दूरीमा सशस्त्र प्रहरीका सुरक्षा पोस्ट रहनेछन् । सशस्त्रले ठूला राजमार्गमा हुने दुर्घटनालक्षित आठवटा ठूला एम्बुलेन्ससमेत खरिद गरेको छ । त्यस्ता एम्बुलेन्सले एकैपटक १०–१२ जनासम्म बिरामी बोक्न सक्छन् । ठूला एम्बुलेन्ससहित अब टोली राजमार्गमा खटिने सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए । अहिले उद्धारका लागि सशस्त्र प्रहरीसँग १७ वटा एम्बुलेन्स छन् ।

‘राजमार्ग (सडक)मा हुने अवरोध हटाउन गर्नुपर्ने सुरक्षा कारबाहीको कार्यविधि’ चैतदेखि कार्यान्वयनमा आएको हो । जसमा राजमार्गलाई सुरक्षित बनाउनेदेखि दुर्घटनापछि शीघ्र रूपमा उद्धार गर्ने उद्देश्य राखिएको छ । बन्द–हडताल तथा प्राकृतिक विपत्का कारण सडक बन्द भए पनि तत्काल सबै निकायसँग समन्वय गरी खुलाइने कार्यविधिमा जिम्मेवारी तोकिएको छ । कार्यविधि कार्यान्वयनका लागि सबै निकायमा पठाइएको गृह मन्त्रालयले जनाएको छ ।

 मुख्य जिम्मेवारी सशस्त्रलाई, सेनासमेत परिचालन गरिने 

राजमार्ग सुरक्षा तथा उद्धारको मुख्य जिम्मेवारी सशस्त्र प्रहरी बलले पाएको छ । सशस्त्र ०६९ देखि नै राजमार्गको सुरक्षामा खटिँदै आएको छ । हरेक गण तथा गुल्मले आफ्नो क्षेत्रमा पर्ने राजमार्गमा इमिडियट रेसपन्ड टिम (आइआरटी) खटाउँदै आएको छ । नयाँ कार्यविधि बनेपछि त्यसलाई थप सशक्त बनाउन लागिएको प्रवक्ता डिआइजी सुरजकुमार श्रेष्ठले बताए ।
‘आइआरटी परिचालन गरेपछि राजमार्गमा हुने लुटपाट लगभग बन्द भएको छ,’ उनले भने, ‘यो टिमलाई हामी थप सशक्त रूपमा परिचालन गर्दै छौँ ।’ देशभरि करिब ९० वटा आइआरटी टिम परिचालन भइरहेको उनले बताए । आइआरटीसँगै सिनियर अफिसरको कमान्डमा क्वुआरटी (क्विक रेसपन्ड टिम) तयारी अवस्थामा राख्ने, बन्द हुने अवस्थामा भएका अग्रिम रूपमा सादा पोसाकमा प्रहरी सूचना संकलन गर्न परिचालन गर्ने उल्लेख छ ।

राजमार्ग खुलाउन प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले सेनासमेत परिचालन गर्न सक्ने प्रावधान राखिएको छ । परिस्थिति स्थानीय प्रशासनको नियन्त्रणभन्दा बाहिर गएमा सिडिओले स्थानीय प्रशासन ऐन, २०२८ अनुसार सेना परिचालन गर्न सक्नेछन् । त्यस्तै, कानुन कार्यान्वयनमा कडाइ गरिएको छ । आवश्यक सेवा ऐन, २०१४ मा राजमार्ग अवरोध गरेर ६ महिनासम्म कैद र दुई सय रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । सो कानुनलाई अब कडाइका साथ लागू गरिने गृहका अधिकारीहरूले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed