Breaking News.... EverestOnlineKhabar
June 26, 2026

सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि : कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु

Loading

काठमाडौं : सरकारविरुद्ध खबरदारी र पार्टीको संगठन सुदृढीकरणका लागि भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुधबारदेखि मुलुकभर एकसाथ ‘राष्ट्रिय जागरण अभियान’ सुरु गर्दै छ। ‘हिमाल, पहाड, तराई–मधेसी नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ नाम दिइएको उक्त अभियान तीन चरणमा वर्षभरि हुने कांग्रेसले जनाएको छ।

पहिलो चरणको कार्यक्रम बुधबारदेखि सुरु हुन लागेको हो। एक महिना (जेठ २५गते) सम्म सञ्चालन हुने अभियानका लागि प्रत्येक जिल्लामा कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ। ‘सबै जिल्लामा केन्द्रीय प्रतिनिधि पुगिसक्नुभएको छ, बुधबार सबै जिल्लामा अभियानको सुरुवात हुृन्छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नेपाली राजनीतिमा एकै स्वरूपको प्रथम कार्यक्रमका रूपमा अभियान प्रारम्भ हुँदै छ।’

देशबाहिर विभिन्न ३३ मुलुकमा पनि कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए। अभियान गर्नुका १५ वटा उद्देश्य रहेको उनले बताए। पार्टीको नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म व्यापक ढंगले सुसूचित गर्ने , ‘अभियानका क्रममा कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेको राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका कामको पनि प्रचार गर्छाैं।’

सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियानका क्रममा सरकारविरुद्ध खबरदारी गर्ने कांग्रेसको रणनीति छ। ‘सरकारका भ्रष्टाचारलगायत अनेक विसंगतिपूर्ण जनविरोधी क्रियाकलापबारे सविस्तार विवरण आम नागरिकमा व्यापक ढंगले प्रस्ट्याउने काम हुन्छ’, जागरण अभियानबारे कांग्रेसद्वारा विज्ञप्तिमा उल्लेख छ।

अभियानमा स्वागत मन्तव्य र कार्यक्रम विसर्जनबाहेक तीन जना मात्र वक्ता हुनेछन् भने महिला वक्ता अनिवार्य गरिएको छ। त्यस्तै कांग्रेसले पार्टी कार्यक्रममा माला, ब्याज र खादा लगाउने प्रचलनको पनि अन्त्य हुने जनाएको छ। कार्यक्रमको उद्घाटन वरपीपल, स्वमीमध्ये कुनै एक बिरुवा रोपेर गरिनेछ।

कांग्रेसले १२ भाषामा जागरण गीत तयार गरेको छ। गीतको रचनाकार पार्टी प्रवक्ता शर्मा हुन्। मैथिली, मगर, नेवारी, तामाङ, गुरुङ, भोजपुरी, राई, लिम्बू, थारू, राजवंशी, देउडा र नेपाली भाषामा गीत तयार गरिएको छ’, प्रवक्ता शर्माले भने।

पहिलो चरणको जागरण अभियानका लागि जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिलाई एक महिना जिल्लामै बस्न पार्टीले निर्देशन दिएको छ। अभियान सफल बनाउन कांग्रेसले सबै भ्रातृसंस्थालाई परिचालन गरिएको जनाएको छ।

दोस्रो चरणको अभियान बीपी जयन्तीका अवसरमा भदौ २४ गतेदेखि सुरु भई असोज ७ गते समापन हुनेछ। तेस्रो चरण भने पुस ७ गते प्रारम्भ भई १६ गते मेलमिलाप दिवसमा समापन हुने कांग्रेसले जनाएको छ। प्रथम चरणअन्तर्गत ७७ जिल्ला, दोस्रो चरणमा ३ सय ३० प्रदेश निर्वाचन क्षेत्र र तेस्रो चरणमा ७ सय ५३ स्थानीय तहमा जागरण अभियान सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed