![]()
मालपोतका कर्मचारीले मोटो रकम घुस लिएर ‘भूमाफिया गिरोह’लाई सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा पास गर्न सघाएको खुलेको छ। बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका (साविक नेउलापुर गाविस ७) को कित्ता नं. १९१ (ख), ७, ८, ५०, ६१, ६३ को ६ विगाह ३ कठ्ठा १४ धुर जग्गा किर्ते कागज गरी खैरुले सुरुमा बावु मुजिबुल हसन अन्सारीको नाममा जग्गा धनी स्रेस्ता कायम गरी आमा हसरतुन निशा अन्सारीको नाममा नामसारी गरेका छन्। यस कार्यका लागि लेखनदास पप्पुमार्फत मालपोत कर्मचारीलाई १० लाख रुपैयाँ धुस दिएको उनले बयानमा बताएका छन्।
मोठका कर्मचारी र सुब्बालाई भेटेर मोठ नै झोलामा बोकेर होटलमा मोठको पाना १२३, १२८ र नलेखेको पाना १ गरी तीन पाना निकालेर खाली पानामा भित्रैबाट मालपोतका कर्मचारीले लेखी पठाएको व्यहोरा भर्न लगाए र उल्लिखित कित्तासमेत लेख्न लगाई बुवा मुजिबुल हसन अन्सारीको फोटो टाँसेको स्विकारेका छन्। त्यही जग्गा १२ पुस २०७५ मा आमाको नाममा नामसारी गरेका थिए। सोही जग्गामध्ये मालपोत कार्यालयका खरिदार भूमिराज पोखरेलसँग लिखतमा ८ लाख रुपैयाँमा लेखेर ४ लाखमा दृष्टिबन्धक गरेका थिए। खैरुलले बर्दियामा मालपोत कार्यालयका लेखनदास पप्पु धोबी, खरिदार भूमिराज पोखरेल र सुब्बा कृष्णलाल शर्मालाई पोलेका छन्।
मालपोत कार्यालय बाँकेका पियन अन्तराम चौधरीले बयानमा यस्ता काम राति हुने खुलासा गरेका छन्। ‘म राति कार्यालयमै बस्ने भएकाले खैरुल र जुनेद अन्सारी राति आएर मोहीको बारेमा हेर्नु छ भनी मोठ देखाइदिनू भन्ने गर्थे। कार्यालयका चाबी मसँगै हुने भएकाले जग्गाको मोठ देखाइदिन्थें। उनीहरूले पुरानो मोठ हेरी जग्गाको स्रेस्ता कापीमा टिप्ने र फोटोसमेत खिचेर लाने गर्थे’, उनले बयानमा भनेका छन्।
मुख्य अभियुक्त खैरुलले बाँकेमा सिक्टा सिँचाइ आयोजनाको नेपालगन्ज–१८ कारकाँदोको कित्ता नम्बर २१० नम्बरको ५ कठ्ठा १३ धुर जग्गा आमा हसरतुन निशा अन्सारीको नाममा दर्ता गरेका थिए। यही जग्गा २२ साउन २०७४ मा ५ लाखमा दृष्टिबन्धक गरी २२ साउन २०७५ मा फुकुवा भएको थियो। ३२ असारमा २०७५ मा ३० लाखमा दृष्टिबन्धक हुँदासमेत सिक्टा सिँचाइ आयोजनाले पत्तो पाएन।
नगर पञ्चायतको नाममा रहेको वागेश्वरी मन्दिर छेउको नेपालगन्ज–३ को कित्ता नम्बर १४ को ५ कठ्ठा १७ धुर जग्गा जुनेदले सासु लाली मल्लको नाममा पास गर्न खोजेका थिए। खैरुलले बयानमा भनेका छन्, ‘सरकारी जग्गाको पन्ना मोठबाट च्यातेर ल्याई नेपालगन्जको होटल दरबारमा मोठका पुराना खाली पन्नामा मालपोत कार्यालय बाँकेका कर्मचारीले लेखिपठाएको नमुना अनुसार मैले पानामा लेखी जुनेदलाई दिएँ। निजले उक्त पन्ना मोठमा राखी स्रेस्ता कायम गरेको हो।’ जग्गा लाली मल्लको नाममा दर्ता स्रेस्ता कायम गरी जग्गाधनी पुर्जा निकाल्ने अन्तिम प्रक्रियामा थियो। जग्गा पास गर्दा मालपोत कर्मचारीलाई साढे सात लाख रुपैयाँ खर्च गरेको अभियुक्तले स्विकारेका छन्।
सरकारी लापरबाहीका कारण घटना भएको बताउँछन्। ‘पुराना कागज यति भद्रगोल अवस्थामा राखिँदा पनि व्यवस्थित भएन। कार्यालयमा गैरनेपालीको घुसपेठ भयो र नेपाली सम्पत्तिमाथि हस्तक्षेप भयो। मालपोत प्रणालीमै सुधार जरुरी छ’।


