![]()
कपिलवस्तु । सूचना प्रविधिको प्रयोग गर्दै सामाजिक संजालमार्फत केही युवाहरु सामाजिक कार्यमा जुटेका छन् । काठमाडौंमा रहेर अध्ययन गर्दै आएका देशका १७ जिल्लाका युवाहरु ‘राष्ट्र निर्माणमा युवा अभियान’ नामक सामाजिक सञ्जालमार्फत शैक्षिक संकलन र सहयोगमा जुटेका छन् ।
सामाजिक संजालमार्फत विभिन्न किसिमका शैक्षिक पुस्तक संकलन गरी रोल्पा, पर्वत, काठमाडौं लगायतका विभिन्न विद्यालयलाई सहयोग गरिसकेका युवाहरुले हालै कपिलवस्तुको एक विद्यालयलाई तीनसय थान पुस्तक सहयोग गरेका छन् ।
फेसबुक पेज ‘राष्ट्र निर्माणमा युवा अभियान’ मार्फत पुस्तक संकलन गरी जिल्लाको शिवराज नगरपालिका ७, पिपरीस्थित त्रिभुवन आदर्श माविलाई सहयोग गरेका हुन् । जिल्लाको शिवराज नगरपालिका ५, चन्द्रौटा निवासी मिनप्रसाद खनालका छोरा कुशल खनालले विद्यालयमै पुगी पुस्तक हस्तान्तरण गरे ।
विद्यालयका प्रधानाध्यापक घनश्याम कुर्मी र विव्यस सदस्य भुवनेश्वर सिंहलाई आफूले विभिन्न जिल्लाबाट संकलन गरिएको तीनसय थान पुस्तक बुझाएको खनालले बताए । विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुलाई अध्ययन अध्यापनमा थप टेवा पु¥याउने उद्देश्यले सामाजिक संजालको माध्यमबाट विभिन्न किसिमका शैक्षिक पुस्तक संकलन गरिएको उनले बताए ।


