![]()
काठमाडौं। दुई वर्ष अघि फुटेर आ–आफ्नो बाटो लागेका तीन वटा राप्रपा फेरि एकीकरणमा जुटेका छन्। कमल थापा, पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीले नेतृत्वका गरेका तीनवटा राप्रपा फेरि पनि एकीकरणमा जुटेका छन्।
लोहोनी एकीकरणमा आउँछन् वा आउँदैनन् अझै टुंगो लागेको छैन। तर जवरा र थापा नेतृत्वका राप्रपा लोहोनी नआएपनि एकीकरणमा जाने भएका छन्। लोहनी पनि एकीकरणमा सकारात्मक छन्। तीनवटै पार्टीका अध्यक्षले अहिले पार्टी एकीकरणका लागि भएको गृहकार्यको प्रगति आफ्नो पार्टी भित्र सुनाइरहेका छन्।
थापा नेतृत्वको राप्रपाले आइतबार नै उपलब्ध केन्द्रीय समितिको बैठक गर्दैछ। जबरा नेतृत्वको राप्रपाको पनि आइतबार नै उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। तीनवटै पार्टीका अध्यक्षले एकीकरणका लागि विभिन्न चरणमा भेट गरेका छन्। पार्टी एकीकरणले एक दुई दिनमै अन्तिम रुप लिने अपेक्षा छ ।
हालसम्म सामुहिक नेतृत्वको आधारमा अगाडि बढ्ने गरी तयारी भएको छ। नेताहरुका अनुसार केही प्राविधिक विषय बाहेक अरु सबै विषय मिलेका छन्। २०७३ को फागुनमा छिन्नभिन्न भएका राप्रपाहरु मिलेका थिए। तर त्यसको केही समयमै लोहनीले राप्रपा त्यागेर अर्को राप्रपा गठन गरेका थिए। त्यसको केही समयमै जबराले पनि राप्रपा त्यागेका थिए। छिन्नभिन्न भएपछिका चुनावमा तीनवटै राप्रपाले अपेक्षित जनमत पाउन सकेनन्। पछिल्लो समय प्रजातन्त्रवादीहरु मिलेर अघि बढ्नुपर्ने भन्दै राप्रपाका नेताहरुले बताउँदै आएका छन्। एकै ठाउँमा भएमा पार्टी बलियो हुने र कार्यकर्ताहरुलाई एकै ठाउँमा ल्याउन सकिने अपेक्षा नेताहरुले गरेका छन्।
तीन राप्रपाको एकीकरण सोमबार नै हुने सम्भावना छ।


