Breaking News.... EverestOnlineKhabar
May 1, 2026

यौन दुर्व्यवहार आरोप: क्याभानोले एफबीआईको सामना गर्ने

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सर्वोच्च अदालतको न्यायाधीशका लागि आफूले मनोनयन गरेका ब्रेट क्याभानोमाथि लागेको यौन दुर्व्यवहारबारे संघीय जाँच ब्यूरोमा अनुसन्धान गर्न निर्देशन दिएका छन्। यसअघि सिनेटको न्यायिक समितिले सर्वोच्च अदालतका लागि क्याभानोको मनोनयन अनुमोदन गर्न मतदान गरेको थियो।

तर न्यायिक समितिले क्याभानोको नाम अनुमोदन गर्नुअघि रिपब्लिकन सांसदहरूले अनुसन्धान हुने भन्ने बुझाइमा मात्रै उक्त कदमको समर्थन गरेका थिए। फलस्वरूप क्याभानोलाई सिनेटको पूर्ण बैठकले अनुमोदन गर्ने प्रक्रिया एकसाताका लागि धकेलिएको छ।

पुनरावेदन अदालतका न्यायाधीश क्याभानोले आफूविरुद्ध कम्तीमा तीन महिलाले लगाएको यौन दुर्व्यवहारको आरोप अस्वीकार गरेका छन्। गत बिहीवार न्यायिक समितिले क्याभानोलाई आरोप लगाउने महिला क्रिस्टिन ब्लाजे फोर्डको बयान सुनेको थियो।

क्यालिफोर्नियामा मनोविज्ञानसम्बन्धी प्राध्यापक फोर्डले सन् १९८० को दशकमा आफूहरू किशोर उमेरमा हुँदा क्याभानोले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन्। न्यायाधीश क्याभानोले पनि बयान दिएका थिए। बयानका क्रममा उनले आफूमाथिको आरोप रुष्ट हुँदै अस्वीकार गरेका थिए। उनले डेमोक्र्याटसहरूले प्रक्रियालाई राजनीतिकरण गरेको र आफू र आफ्नो परिवारको नाममा हानी पुर्याउन खोजेको आरोप लगाएका छन्।

आफ्नो कदमबारे घोषणा गर्दै ट्रम्पले भने, “मैले संघीय जाँच ब्यूरोलाई न्यायाधीश क्याभानोमाथिको आरोपमाथि पूरक अनुसन्धान गर्न निर्देशन दिएको छु। सिनेटले अनुरोध गरेकोले अबको जाँच सीमित हुनेछ र एकसाता भन्दा कम समयमा पूरा हुनुपर्नेछ।”

यो जाँचबुझमा एफबीआइले विगतमा पूरा भइसकेको न्यायाधीशको पृष्ठभूमिबारे पुन: जाँच गर्छ। यसको अर्थ पूराना साक्षीकोमा जाने वा नयाँसँग कुरा गर्ने हुनसक्छ। शुक्रबारको न्यायिक समितिको बैठकमा डेमोक्र्याट्सहरूको ३६ वर्षअगाडिको घटनाका साक्षी अर्थात् क्याभानोका साथी भनिएका मार्क जजलाई उपस्थित गराउने प्रयासलाई रिपब्लिकनहरूले विफल बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed