![]()
बीबीसी । तान्जानियाको लेक भिक्टोरियामा भएको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या २ सय ७ पुगेको तान्जानियाको सरकारी रेडियोले जनाएको छ।
यातायात मन्त्री आइज्याक कामवेलेलाई उद्धृत गरी शनिबार रेडियोले मृतकको सङ्ख्या २ सय ७ पुगेको जानकारी गराएको हो। यसअघि दिइएको जानकारीमा मन्त्री कामवेलेले मृतकको सङ्ख्या कम्तीमा १ सय २६ पुगेको र घटनाबारे थप जानकारी गराउँदै जाने बताएका थिए। यद्यपि केही यात्रु डुबेको आशङ्कामा उद्धारकर्मीले शनिबार पनि खोजी कार्यलाई जारी राखेका उनले बताए।
शनिबार दिउँसो स्थानीय उप–गभर्नरले घटनामा परेका ४१ जनालाई जोगाउन सफल भएको जानकारी दिए। एमभी नाइरेरे नामक डुङ्गाले २ सय जनाभन्दा बढी यात्रुलाई लिएर यात्रा गरिरहेको भनाइका आधारमा खोजी जारी राखिएको हो। डुङ्गाको भारबहन क्षमताभन्दा दोब्बर सङ्ख्या लिएर यात्रा गरेको र यही नै दुर्घटनाको कारण रहेको प्रारम्भिक अनुमान रहेको छ।


