![]()
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघले कञ्चनपुरकी किशोरी निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको छ । महिला संघले आइतबार उपत्यकाका तीनवटै जिल्लाबाट कार्यकर्ताहरु सडकमा उतारेर पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन गरेको हो ।
माइतीघर मण्डलाबाट सुरु भएको महिला संघको प्रदर्शनमा काठमाडौं, ललितपुर र भक्तपुरका महिला संघमा आवद्ध नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । प्रदर्शनका क्रममा महिला संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेका छन् ।
उनीहरुले महँगी, कालोबजारी रोक्नुपर्ने, जनतालाई सामाजिक सुरक्षाको ग्यारेन्टी गर्नुपर्नेलगायतका मागसमेत गरेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको महिला संघको प्रदर्शन काठमाडौं जिल्ला अदालत पुगेर सम्पन्न भएको थियो ।


