![]()
बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विद्रोही नियन्त्रित इड्लिब प्रान्तमा ‘गैरजिम्मेवार ढङ्गले’ कारबाही नगर्न सिरियाली सरकार र उसका साझेदारहरू रुस तथा इरानलाई चेतावनी दिएका छन्। ट्वीट गर्दै उनले त्यस्तो हमलाबाट हजारौँ मानिस मारिन सक्ने बताएका छन्।
सिरियाली सरकारी फौजले इड्लिबमा ठूलो हमलाको तयारी गरिरहेका विवरणमाझ ट्रम्पको चेतावनी आएको हो। इड्लिब सिरियाली विद्रोहीहरूको पकड रहेको अन्तिम महत्त्वपूर्ण क्षेत्र हो।
संयुक्त राष्ट्रसंघले पनि सिरियाली फौजले गर्ने भनिएको हमलाले हजारौँ नागरिकलाई भयावह परिणाम निम्त्याउन सक्ने जनाएको छ।यसअघि सोमवार अमेरिकी विदेश मन्त्रालयले पनि सिरियाली सरकार र उसका साझेदारहरूले रासायनिक हमला गरे वाशिङटनले त्यसको जवाफ दिने चेतावनी दिएको थियो।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले ट्वीट गरेकी छन्, “सबैको नजर असाद, रुस र इरानले इड्लिबमा के गर्छन् भन्ने कुरामा छ।”
अधिकतर सिरियामा विद्रोहीहरू परास्त भइसकेको पृष्ठभूमिमा उत्तरी प्रान्तमा गरिने आक्रमण सिरियाली गृहयुद्ध अन्तर्गत अन्तिम महत्त्वपूर्ण लडाइँ हुनेछ।


