![]()
काठमाडौं । भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी संहितामा भएका केही बुँदाहरुको विरोधमा असहमति जनाउँदै करिब ६ हजार चिकित्सकले नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र (लाइसेन्स) सरकारलाई बुझाएका छन् । संघका अनुसार देशभरबाट जम्मा भएका करिब ६ हजार लाइसेन्स बुझाएका छन ।
संघले भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइएको मुलुकी संहिताका केही बुँदामा असहमति जनाउँदै संशोधनको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उक्त ऐनमा भएका विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिवद्धता यसअघि नै सरकारले जारी गरे पनि भदौ १५ सम्म संशोधन प्रक्रियाका लागि कुनै कदम नचालेको भन्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको जनाएको छ ।
संघले आइतबार १ दिनका लागि सांकेतिक हड्तालस्वरुप देशैभरीका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ । आकस्मिक सेवा बन्द गरेर काठमाडौं उपत्यकाको हकमा दिउसो माइतीघर मण्डलामा जम्मा भएर चिकित्सकहरु बानेश्वर पुगेर कोणसभा गरेका थिए । नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सकहरुले आईतबार काठमाडौंमा र्यालीसहित प्रर्दशन गरेका हुन् ।
नयाँ बानेश्वरमा आयोजित कोण सभामा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले नयाँ मुलुकी ऐन संशोधन गर्न आफूहरु आन्दोलनमा जान बाध्य हुनु परेको स्पष्ट पारे । चिकित्सकहरुलाई जेल सजाय दिने कानुनी व्यवस्था तत्काल नहटाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि उनको चेतावनी छ ।
कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले सरकारले ल्याएको सो ऐन ‘जनता मारा’ भएको भन्दै आक्रोश व्यक्त गरे ।


