Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बुटवल,भदौ ।
श्रीलङ्काले लुम्बिनी गुरुयोजना पूरा गर्न नेपाल सरकारबाट प्रस्ताव आए श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको जनाएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आएका श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले लुम्बिनी भ्रमणको क्रममा सो सहयोग गर्ने घोषणा गरेका हुन्।
लुम्बिनी भ्रमण र मायादेवी मन्दिरको दर्शन पश्चात् आयोजित विशेष कार्यक्रममा राष्ट्रपति सिरिसेनाका तर्फबाट विदेश मामिला मन्त्रालयका सचिव रविनाथा पि आर्य सिंहाले बुद्धको जन्मस्थल लुम्बिनीको विकास र गुरुयोजना पूरा गर्न श्रीलङ्का सरकार सहयोग गर्न तयार रहेको घोषणा गरेका हुन्।
यसअघि श्रीलङ्काका राष्ट्रपति सिरिसेनाको सम्मानमा आयोजित कार्यक्रममा लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रवीन्द्र अधिकारीले नेपालमा पर्यटक आउने भारतीय र चिनियाँपछि श्रीलङ्काली भएको उल्लेख गर्दै गत आर्थिक वर्षमा श्रीलंकाबाट ५० हजार पर्यटक नेपाल आएको जानकारी दिए।
नेपाल र श्रीलङ्काबीच प्रत्यक्ष हवाई सम्पर्क नहुँदा लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्यामा अझै उल्लेख्य वृद्धि हुन नसकेको बताउँदै मन्त्री अधिकारीले अर्को वर्षबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि दुई देशका जनताबीचको सम्बन्ध विस्तार र लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्यामा उल्लेख वृद्धि हुने विश्वास व्यक्त गरे।
श्रीलङ्का सरकारले यसअघि लुम्बिनीको विकासमा लुम्बिनीको विहार क्षेत्र अन्तर्गत मुख्य ४ नम्बर गेटबाट श्रीलङ्का बौद्ध विहार पुग्ने सडक निर्माणमा लगानी गरेको लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई बताए।
उनले श्रीलङ्का सरकारबाट गुरुयोजना पूरा गर्न राष्ट्रपतिका तर्फबाट नै भएको घोषणाले उत्साहित बनाएको धारणा राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed