Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अमेरिका: ट्रम्पका पूर्ववकिल समितिसँग ‘बोल्न तयार’

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भूतपूर्व वकिल माइकल कोअन रुससँग आरोपित गोप्य साँठगाँठबारे छानबिन समितिसँग बोल्न उत्सुक भएको बताइएको छ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनको बेला ट्रम्पका कथित प्रेमिकाहरूलाई मौन बस्न लगाउन रकम दिएर कानुन उल्लङ्घन गरेकोमा मङ्गलवार कोअनले आफू दोषी रहेको स्वीकारेका थिए। छानविन समितिसँग गरेको समझदारी अनुसार कोअन रुससम्बद्ध आरोपका सम्बन्धमा बयान दिन बाध्य भने हुने छैनन्।

तर कोअनका निजी वकिलका अनुसार ट्रम्पबारे थाहा भए जति सबै कुरा बताउन कोअन तयार छन्। ती वकिल ल्यानी डभिसका अनुसार कम्प्युटर ह्याकिङबारे ट्रम्पलाई पहिले नै थाहा थियो कि थिएन भन्नेबारे कोअनलाई जानकारी थियो।

सो ह्याकिङले ट्रम्पकी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनलाई कमजोर बनाएको थियो। ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै कोअनले कुरा बनाएको आरोप लगाएका छन्। उनले निर्वाचन जित्न रुससँग मिलोमतो नगरेको दाबी गरेका छन्।

आफ्ना पूर्ववकिललाई कटाक्ष गर्दै नामेर किटेर उनले लेखेका छन, “कसैले राम्रो वकिल खोज्दैछ भने म तपाईँलाई माइकल कोअनको सेवा नलिन सुझाव दिन्छु!”

डेभिस भन्छन् – सन् २०१६ मा ट्रम्पको निर्वाचन अभियानका सहयोगीहरू र रुसी प्रतिनिधिहरूबीच न्यू योर्कस्थित ट्रम्प टावरमा भएको भेटबारे पनि कोअनलाई थाहा छ। त्यसमा रुसी टोलीले क्लिन्टनलाई हानि पुग्ने खालका जानकारी दिने बताएको थियो।

जुरीले ट्रम्पको निर्वाचन अभियानका अध्यक्ष पाउल म्यानाफोर्टलाई ब्याङ्क र कर छली गरेकोमा दोषी ठहर गरेकै दिन कोअनले पनि दोष स्वीकारेका थिए। मङ्गलवारको एउटा र्‍यालीमा ट्रम्पले उनको अभियानमा रुसी साँठगाठ रहेको भन्ने आरोपमाथि प्रहार गरेका थिए।

दायाँबाट क्रमश: कोअन, ट्रम्प, स्टर्मी ड्यानिएल्स र करिन म्याक्डुगल

उनले रुसी छानबिन समितिमा बोल्छन् या बोल्दैनन् भन्नेबारे अझै निश्चित भइसकेको छैन।

ट्रम्पको निर्वाचन अभियानले रुससँग मिलेर ट्रम्पको पक्षमा निर्वाचन जिताउन षड्यन्त्र गरेको हो वा होइन भनेर एफबीआईका पूर्वनिर्देशक रोबर्ट मुलरले छानबिन गरिरहेका छन्। मुलरको छानबिन ट्रम्प टावरमा ट्रम्पका छोरा डोनल्ड ट्रम्प जुनियर र एक जना रुसी वकिलबीच भएको भेटमा केन्द्रित भएको छ।

ट्रम्प जुनियर क्लिन्टनलाई आपराधिक कार्यमा मुछ्नका लागि आधिकारिक दस्तावेज र जानकारी प्राप्त गर्ने विश्वासका साथ उक्त भेटमा गएका थिए। तर पछि डेमोक्र्याटिक न्याश्नल कमिटीको सर्भरबाट ह्याक गरिएका शङ्कास्पद इमेल र दस्तावेजहरू विकिलिक्स र अन्य त्यस्तै माध्यमबाट सार्वजनिक गरिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed