![]()
माले,भदौ ।
माल्दीभ्सका पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ । जेल जीवन बिताइरहेका ८३ वर्षीय गयुमको अवस्था थप बिग्रिदै गएको चिकित्सकहरूले जानकारी दिएका छन् । उनलाई राखिएकै ठाँउमा भेट्न गएको चिकित्सकहरूको टोलीले गयुमलाई विषेश उपचारको व्यवस्था गर्न सुझाव दिएको छ ।
एम्नेष्टी इन्टरनेशनलका थायीब इबु फैसलले सामाजिक सञ्जाल ट्वीटरमा ८३ वर्षीय वृद्ध पूर्वराष्ट्रपति गयुम धेरै बिरामी हुनुभएको लेख्नु भएको छ । चिकित्सकहरूको टोलीले उहाँलाई थप उपचार आवश्यक भएको सिफारिश गरेको पनि फैसलले ट्वीटमा उल्लेख गर्नुभएको छ ।
चिकित्सकहरूको सिफारिश र एम्नेष्टीको आग्रहलाई माल्दीभ्सको सुधार विभागले भने अस्वीकार गर्दै आइरहेको समाचारमा जनाइएको छ । गयुमकी छोरी तथा पूर्वविदेश मन्त्री डुन्या मौमुनले पनि ट्वीट गर्दै आफ्नो बुबाको स्वास्थ्य अवस्था राम्रो नभएको थाहा पाएको बताउनुभएको छ ।
माल्दीभ्सको अदालतले १९ महीने जेल सजायको फैसला गरेकाले गयुम गत जुनदेखि काराबास जीवन भोगीरहनु भएको छ ।


