![]()
काठमाडौं । कुनै व्यक्ति नजरबन्दमा परेको २४ घण्टाभित्र परिवारजनलाई जानकारी दिनुपर्ने व्यवस्था सार्वजनिक सुरक्षा ऐनमा गरिएको छ। प्रतिनिधिसभाको बुधवारको बैठकबाट पारित भएको सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ मा उक्त व्यवस्था गरिएको छ।
पारित विधेयकमा भनिएको छ, ‘कुनै व्यक्तिलाई नजरबन्दमा राखिएमा स्थानीय अधिकारीले त्यसरी नजरबन्दमा राखिएको चौबीस घण्टाभित्र त्यस्तो व्यक्तिको स्थितिबारेमा निजको परिवारको सदस्य वा नजिकको नातेदारलाई जानकारी दिनु पर्नेछ।’
नेपालको संविधानको धारा २३ उपधारा (२) मा निवारक नजरबन्दमा रहेको व्यक्तिका स्थितिको बारेमा निजको परिवारका सदस्य वा नजिकको नातेदारलाई कानून बमोजिम तत्काल जानकारी दिनु पर्ने व्यवस्था रहेको छ। सोही बमोजिम ऐन संशोधन गरिएको हो।
यसैगरी बैठकमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रस्तुत गरेको “सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५’, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले प्रस्तुत गरेको “उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि सामान्य छलफल भएको छ।
बैठकमा अर्थ मन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको “निवृत्तभरण कोष विधेयक, २०७५’ माथि सामान्य छलफल भएको छ।
यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले प्रस्तुत गरेको “अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिमाथि सामान्य छलफल भएको छ।
प्रतिनिधिसभाको अर्को बैठक भाद्र १ गते शुक्रबार एक बजे बस्नेछ।


