![]()
बीबीसी ।युरोप तथा अमेरिका पठाउने भन्दै नेपालीलाई ठगी गर्ने गिरोहले युरोपसँग सीमा जोडिएको टर्कीलाई मुख्य केन्द्र बनाउन थालेको अधिकारीहरूले बताएका छन्। पानीजहाजमा जागिर लगाइदिने बहानामा दलालहरूले टर्की पुर्याएर नेपालीहरूलाई अलपत्र छाड्न थालेको उनीहरूको भनाइ छ।
टर्की गए त्यहाँबाट युरोप, अमेरिका र अस्ट्रेलियासमेत जान सकिने भन्दै दलालले मानिसहरूलाई फसाउने गरेको अधिकारीहरू बताउँछन्। प्रहरीका अनुसार टर्की पुर्याएर अलपत्र पारिएका उजुरीहरू केही समययता बढिरहेका छन्।
टर्कीमा पानीजहाज र क्रुजमा आकर्षक जागिर लगाइदिने वा त्यहाँबाट युरोप र अमेरिका पुर्याउने आश्वासन दिएर फसाइएको विवरण भएका उजुरीहरू परेको बताइन्छ। पहिलेपहिले खाडी तथा मलेशिया लगायतका मुलुकमा पठाउने बहानामा ठगी गर्नेहरूले टर्कीलाई केन्द्र बनाउन थालेको देखिएको प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले बताए।
उनले भने, “युरोप र अमेरिका चाहिँ नेपाली रोजगारीमा लाग्ने युवाहरूको पहिलो रोजाइमा परेको छ। त्यसकारण वैदेशिक रोजगारी र कतिपय अवस्थामा मानव बेचबिखन तथा ओसारपसारका एजेन्टहरूले पनि टर्कीलाई ट्रान्जिटका रूपमा प्रयोग गरेको देखिन्छ।”
उनले त्यहाँबाट दलालले अस्ट्रेलिया, अमेरिका, क्यानडा, नर्वे, डेनमार्कलगायतका देशहरूमा उनीहरूलाई पठाउने गरेको पछिल्ला अभिलेखहरूले पुष्टि गरेको बताए।
कतिपय घटनामा म्यानपावर र शैक्षिक परामर्श कम्पनीहरू समेत संलग्न देखिएकाले यस्तो कार्यमा दलालहरूको गिरोह नै सक्रिय हुनसक्ने प्रहरीको आशङ्का छ। विशेषगरी सिरिया लगायतका द्वन्द्वग्रस्त मुलुकहरूबाट शरणार्थीका रूपमा टर्कीको बाटो हुँदै युरोप जाने गरेका समाचार आउन थालेदेखि दलालले नेपालीलाई पनि त्यस्तै आश्वासन दिएर लाने गरेको बताइन्छ। टर्कीमा काम गर्न जान नेपालीलाई रोक नलगाइए पनि द्विपक्षीय सम्झौता नभएकाले समस्या रहेको सरकारी अधिकारीहरू स्वीकार्छन्।
कतिपय सरकारी अधिकारीका अनुसार टर्कीको भारतस्थित दूतावासले नेपाल मामिला हेर्ने र नेपालको चाहिँ पाकिस्तास्थित दूतावासले टर्की मामिला हेर्ने हुँदा समन्वयमा अप्ठेरो परेको छ। प्रहरीका अनुसार उजुरीपछि अवैध रूपमा मानिस पठाउने केहीलाई पक्राउ गरिएको र कतिपय दलाल अझै फरार छन्।
खाडीका मुलुक हुन् वा विकसित देश पुग्न चाहने खासगरी युवाले दलाललाई बढी विश्वास गर्नाले ठगी बढेको बताउँदै अधिकारीहरूले त्यसमा सचेत रहन आग्रह गरेका छन्।


