Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

बीबीसी । एउटा किलर ह्वेलले आफ्नो मृत नवजात बच्चा लिएर समुद्रमा १७ दिनसम्म भौँतारिएको र त्यसक्रममा उसले १६ सय किलोमिटरको यात्रा तय गरेको वैज्ञानिकहरूले बताएका छन्। क्यानडाको भ्यान्कुभर टापुपारिको हारो क्षेत्रमा त्यो माउ किलर ह्वेलले आफ्ना साथीहरूसँगै मिलेर साल्मन माछाको ठूलो समूहलाई तीव्र गतिमा लखेटेको ह्वेल अनुसन्धान केन्द्रले जनाएको छ।

त्यो केन्द्रले शनिवार एक विज्ञप्तिमा भनेको छ, “उसको शोकको यात्रा अब सकिएको छ र उसको स्वभाव निकै चञ्चल हुँदै गएको छ।”

किलर (अर्थात् ज्यानमारा) ह्वेल डल्फिन वर्गको सबैभन्दा ठूलो प्रजाति हो। निकै तेज गतिमा चल्ने यो जातिको ह्वेलले समुद्रमा निकै चलाखीपूर्वक सिकार गर्दछ। यो पृथ्वीको सबैजसो समुद्रमा पाइन्छ।

किलर ह्वेलले आफ्नो मृत बच्चालाई एक हप्तासम्म आफूसँगै लिएर भौँतारिने गर्दछन्। तर वैज्ञानिकहरूका हनुसार भ्यान्कुभर टापुपारिको यो माउ किलर ह्वेल आमाको शोकयात्राले “नयाँ कीर्तिमान” राखेको छ। गत पाँच दिनदेखि जे३५ (J35) नाम दिइएकी यो माउ ह्वेलतिर विश्वको ध्यानाकर्षित भएको थियो।

ह्वेल अनुसन्धान केन्द्रले विज्ञप्तिमा भनेको छ, “समुद्री तटबाट लिइएका टेलिफोटो डिजिटल तस्बिरहरूमा यो माउको शारीरिक अवस्था निकै राम्रो अवस्थामा रहेको देखिएको छ।”

“बच्चाको शव सम्भवत: अमेरिका र क्यानडाबीच रहेको सालिस सागरमा समुद्रको पिँधमा झरेको छ। अनुसन्धानकर्ताहरूले त्यसलाई भेट्टाएर नेक्रोप्सी (जनावरहरूको शवपरीक्षण) गर्ने मौका पाउन सक्छन्।”

आफ्तो मृत बच्चालाई मुखमा च्यापेर अघि बढ्दै गर्दा त्यो ह्वेल जुलाई २४ मा पहिलो पटक देखिएको थियो। नवजात बच्चा त्यही दिन मरेको हुन सक्ने ठानिएको छ। मृत्युको कारण भने स्पष्ट छैन।

क्यानडा र अमेरिका दुवैले किलर ह्वेललाई सङ्कटापन्न समुद्री जीवको सूचीमा राखेका छन्। किलर ह्वेलले चिनुक जातको साल्मन माछा खाने गर्दछ। तर ती माछाको सङ्ख्या नाटकीय रूपमा घटिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed