![]()
बीबीसी । विश्वभरि नै विवादास्पद रहेको बीउबिजनसम्बन्धी बहुराष्ट्रिय कम्पनी मोन्सान्टोलाई २८ करोड ९० लाख डलर हर्जाना तिर्न आदेश जारी भएको छ। एकजना व्यक्तिले ग्लाइफोसेट नामक झारनाशक विषादीले आफूलाई क्यान्सर भएको दाबी गर्दै दायर गरेको मुद्दामा मोन्सान्टोलाई दण्डात्मक हर्जना तिर्न आदेश दिइएको हो।
एउटा ऐतिहासिक मुद्दामा क्यालिफोर्नियाको जुरीले मोन्सान्टो कम्पनीका राउन्ड अप र रेन्जरप्रो लगायतका झारनाशक विषादीहरू खतरनाक रहेको र त्यसबारे उपभोक्तालाई सचेत गराउन उक्त कम्पनी विफल भएको जनाएको हो। ग्लाइफोसेट नामक विषादीले क्यान्सर हुनसक्छ भन्ने खालको अदालतमा पुगेको यो पहिलो मुद्दा हो।
मोन्सान्टोले भने ग्लाइफोसेटले क्यान्सर हुनसक्छ भन्ने कुरा अस्वीकार गरेको छ र अहिलेको आदेशविरुद्ध पुनरावेदन गर्ने जनाएको छ। “जुरीले यसलाई गलत रूपमा लिएको छ,” सान फ्रान्सिस्कोस्थित अदालतबाहिर उक्त कम्पनीका उपाध्यक्ष स्कट प्याट्रिजले भने। यो मुद्दाका उजुरीकर्ता डिवेन जनसन मुद्दा हाल्ने अमेरिकाभरिका करिब ५ हजारमध्येका एक हुन्। क्यालिफोर्नियाले गरेको यो आदेशले मोन्सान्टोविरुद्धका अरू सयौँ उजुरीको प्रतिनिधित्व गर्ने सञ्चारकर्मीले बताएका छन्।
सन् २०१४ मा जनसनलाई एक प्रकारको क्यान्सर लागेको देखिएको थियो। उनका वकिलहरूले उनले क्यालिफोर्नियाको बेनिसियास्थित विद्यालयमा काम गर्दा निरन्तर रूपमा रेन्जरप्रो नामक झारनाशक विषादी प्रयोग गर्ने गरेको बताएका छन्।


