![]()
एजेन्सी,साउन ।
इन्डोनेसियाको पर्यटकीय प्रान्त लोम्बोकमा आइतबार पुनः आएको शक्तिशाली भूकम्पमा परी ८२ जनाको मृत्यु भएको छ। लोम्बोकमै गत साता आएको भूकम्पमा परी १६ जनाको मृत्यु भएको थियो। स्थानीय अधिकारीहरुका अनुसार, भूकम्पको धक्काबाट बालीको डेनपसारसम्मका भवनहरुका साथै डिपार्टमेन्ट स्टोर र विमानस्थलको टर्मिनलमा क्षति पुगेको छ।
बालीमा मानिसहरु घरबाट चिच्याउँदै बाहिर निस्केका थिए। लोम्बोकमा सेना र अन्य उद्धारकर्ताले घाइतेहरुलाई स्ट्रेचरमा राखेर सुरक्षित स्थलमा पुर्याएका छन्।
राष्ट्रिय विपद एजेन्सीका प्रवक्ता सुटोपो पुर्वोले मृत्यु हुनेको संख्या ८२ पुगेको र अन्य सयौं व्यक्ति घाइते भएको जानकारी दिए। लोम्बोक जिल्लाको उत्तरमा सबैभन्दा बढी ६५ जनाको मृत्यु भएको छ।
अमेरिकी जियोलोजिकल सर्भेका अनुसार ७ म्याग्निच्युडको उक्त भूकम्प आइतबार साँझ गएको र भूकम्पको केन्द्र उत्तरी लोम्बोक रहेको छ। भूकम्प जमिनको सतहबाट करिब साढे १० किलोमिटर मुनि थियो।
इन्डोनेसियाको मौसम विज्ञान विभागले समुद्री सतहको अध्ययनपछि सुनामीको खतरा नरहेको जनाएको छ।
त्रसित मानिसहरु रातारात सुरक्षित स्थानहरुमा पुगेका थिए। बाली र लोम्बोकको विमानस्थल पूर्ववत रुपमै आइतबार रातिदेखि सञ्चालनमा आएका छन्। भूकम्प आएको आधा घन्टा विमानस्थलहरुमा पनि विद्युत कटौती हुँदा उडान र अवतरण बन्द भएको थियो।


