![]()
विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले चिकित्सा शिक्षा सुधारका नाममा अनशन बसेर डा. गोविन्द केसीले गलत अभ्यास गरेको आरोप लगाएका छन् । उनले केसीको कार्यशैली सर्वसत्तावाद र अधिनायकवादी भएको भन्दै सच्याउन आग्रह गरे ।
पोखरेलले जुम्लामा अनसनका बसेका केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको समेत दाबी गरेका छन् । कुनै एक व्यक्तिले आफ्ना माग पूरा गर्ने नाममा विधि र प्रक्रिया मिच्छ खोजे त्यो मान्य नहुने पोखरेलको भनाई छ । उपप्रधानमन्त्री पोखरेलले डा. केसी राजनीतिक स्वार्थ समूहको शिकार बन्ने खतरा बढेको भन्दै त्यसबाट जोगाउन जरुरी रहेको औंल्याए ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पाखरेलले जुम्लामा डा. केसीलाई पक्राउ नगरी उनको जीवन रक्षाका लागि स्वास्थ्य उपचार गर्न काठमाडौँ ल्याएको प्रष्ट पारे । पोखरेलले वार्ता र संवादमा सरकार नभएर केसी उदासीन भएको आरोप लगाए । केसीको माग पूरा गर्ने काम जनताबाट निर्वाचित जनप्रतिनिधिको भएकाले केसीले वार्तामा बस्न आनाकानी गर्न नहुने उनको तर्क छ ।
उनले पूर्ववर्ती सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तेस्तै ल्याउनुपर्ने माग अनुचित भएको बताउँदै संसदमा प्रतिपक्षद्वारा विधेयक टेबुल गर्न नदिनु अधिनायकवाद भएको आरोप लगाए ।


