![]()
काठमाडौँ । नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदुत रोलाण्ड सेफरले नेपाल सरकारको रणनीतिक लक्ष्य “समृद्ध नेपाल, सुखी नेपाली“ हाँशिल गर्ने नेपाल सरकारको अभियानमा आफ्नो देशको पूरा साथ रहने बताउनु भएको छ ।
नेपाल चेम्बर अफ कमर्सले मंगलबार राजधानीमा गरेको “नेपाल–जर्मन दुई पक्षीय ब्यापार तथा लगानी“ बिषयक अन्तरक्रियामा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो ।
समृद्धिको लागि क्षमता अभिवृद्धी महत्वपूर्ण हुने भन्दै उहाँले नेपाली ब्यापार व्यवसायको प्रबद्र्यनको लागि नेपाली व्यापारिक समुदायको क्षेमता अभिबृद्धी गर्नुपर्ने भन्दै यसका लागि आवश्यक तालिमहरुमा सहयोग गर्ने बचन दिनुभयो । ब्यापारबाटै संसारका देशहरुले समृद्धिको सपना पूरा गरेको भन्दै उहाँले नेपाल पनि त्यही बाटोमा हिड्नुपर्ने धारणा राख्नुभयो ।

एक अर्को प्रसंगमा राजदुत सेफरले भन्नुभयो, ‘बिकासको लागि प्रयोग र अनुभव महत्वपूर्ण कुरा भएकोले बिकासको बाटोमा गरिने नयाँ प्रयोग नेपाल आफैले गर्नुपर्ने तर हाम्रो देशले जर्मनीको बिकासको अनुभव नेपालसंग बाँड्न तयार छ ।’
नेपालको नयाँ संरचना अनुसार व्यवस्था गरिएको अधिकारको विकेन्द्रीकरणको मोडेलमा नेपालको ब्यापार व्यवसाय अघि बढेमा नेपालले तिब्र रुपमा बिकासको लक्ष्य हाँशिल गर्ने उहाँको बिश्वास थियो । यसको लागि नीजि क्षेत्रबाट नेपाल चेम्बर अफ कमर्सको भूमिका महत्वपूर्ण हुने भएकोले चेम्बरसंगको सहकार्यमा आफु तयार रहेकोसमेत उहाँले बताउनुभयो ।
सोहि कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा जर्मन लगानी भित्र्याउने सहि समय भएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा स्थिर सरकार निर्माण भएको र वर्तमान सरकारको लक्ष्य पनि अत्यधिक बैदेशिक लगानी भित्र्याएर नेपाललाई समृद्ध पार्ने रहेकोले नेपालमा जर्मन लगानीको उपयुक्त वातावरण बन्दै गएको छ ।’
प्रबिधि, शिक्षा र पर्यटनको क्षेत्रमा जर्मनीले महत्वपूर्ण योगदान दिएको कुरा समेत अध्यक्ष श्रेष्ठले बताउनुभयो । भूकम्पपछिको पुनर्निर्माणमा जर्मनीले गरेको सहयोग आफुले सम्झिरहेको भन्दै नेपालको ब्यापार व्यवसायको प्रबद्र्यनको लागि आउँदा दिनमा पनि जर्मन सहयोग महत्वपूर्ण हुने उहाँको बिश्वास थियो ।
जर्मनमा अध्ययन गरेर त्यहाँको प्रबिधिबाट प्रशिक्षित बिद्यार्थीहरुले नेपाल फर्केर आफुले सिकेको ज्ञान र सिपको उपयोग गरेको कुरा जानकारी समेत उहाँले दिनुभयो ।
जर्मन दुताबासको कुटनीतिक प्रतिनिधि, नेपाल चेम्बर अफ कमर्सका कार्य समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष द्वय कमलेश कुमार अग्रवाल र नरेश श्रेष्ठले पनि आफ्नो बिचार राख्नुभएको थियो ।


