![]()
जलेश्वर,असार ।
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–९ आगेपुरमा बाटोमा पानी बगाएको विषयमा दुई समूहबीच झगडा हुँदा तीन महिलासहित ११ जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते हुनेमा जलेश्वर–९ आगेपुर बस्ने २६ वर्षीया नगिना खातुन, १६ वर्षीया अप्सना खातुन, ४० वर्षीया रसिदा खातुन रहेका छन्। त्यस्तै ३० वर्षीय साजिर कवारी, ५१ वर्षीय जैनुल कवारी, ११ वर्षीय सजिबुल राईन, २० वर्षीय महमुद राईन, ४० वर्षीय मुनिफ राईन, ४५ वर्षीय अजिम राईन, ५५ वर्षीय हलिम राईन र ४९ वर्षीय मुकिम राईन रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए।
गए राति १०ः३० बजे घरेलु हात हतियारसहित भएको सो घटनामा उनीहरुको टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न अंगमा घाउचोट लागेको छ। गम्भीर घाइते सबैको अञ्चल अस्पताल जनकपुरमा उपचार भइरहेको छ। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


