![]()
बोस्टन,असार ।
नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग गर्दै १५ औं आमरण अनशनमा बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अमेरिकाबाट अभियान सुरु भएको छ । डा.केसीको जीवन बचाउने पहलका लागि संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गर्दै‘चेन्ज डट ओआरजी’मार्फत् हस्ताक्षर संकलन अभियान थालिएको हो । बोस्टनस्थित सामाजिक अभियन्ता एवं स्रष्टा शिवप्रकाशले डा.केसीको प्राण रक्षा गर्न संयुक्त राष्ट्र संघीय मानवअधिकार आयोगसमक्ष अपिल गरिएको जानकारी दिए ।
शिवप्रकाशले बुधबार चेन्ज डट ओआरजीमा अपिल तयार गरि फेसबुक, ट्वीटर जस्ता सामाजिक संजालमार्फ्त सबैसँग डा.केसीको जीवन बचाउने अभियानमा साथ दिन आह्वान गरेका छन् । त्यसका लागि जतिसक्दो छिटो र धेरै मात्रामा हस्ताक्षर संलकन गर्न उनले‘चेन्ज डट ओआरजी’मार्फत् यो अभियान थालेका हुन् । बेलैमा आयोगसमक्ष अपिलको सुनुवाईका लागि एक लाख हस्ताक्षर पुर्याउनु आवश्यक रहेको उनले औंल्याए । उनले डा।केसीको जीवन रक्षाका लागि उच्चस्तरबाट पहल हुन सक्ने देखेर आफुले यो अभियान थालेको बताए ।
चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधार गर्न बनेको अध्यादेश बिना संशोधन विधेयकका रुपमा ल्याउन माग गर्दै डा.केसी १५ औं पटक फेरि अनसन बसेका छन् । नेपालको विकट हिमाली जिल्ला जुम्लामा विगत १४ दिनदेखि आमरण अनसनमा रहेका उनको स्वास्थ्य अवस्था दिनदिनै गम्भीर बन्दै गइरहेको छ ।


