![]()
एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक र प्रविधिका क्षेत्रमा चिनियाँ लगानी गणनायोग्य हुने बताउनुभएको छ ।
चीनका लागि नेपाली राजदूतावास र चीनको अन्तराष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्ले बेइजिङमा आयोजना गरेको ‘नेपाल–चीन विजनेश फोरम’लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा ऊर्जा, कृषि, पर्यटन, सेवा क्षेत्र, उत्पादनमूलक उद्योगमा गरिने लगानी वास्तवमै नाफामूलक उद्योगका रुपमा रहने अवगत गराउनुभयो ।
सरकारले विदेशी लगानीका लागि व्यवहारतः उपयुक्त वातावरण सिर्जना गरिरहेको उल्लेख गर्दै स्थिर तथा समृद्धिका लागि प्रतिबद्ध सरकारले ती क्षेत्रमा चिनियाँ लगानी वृद्धि हुने अपेक्षा गरेको भन्नुभयो ।
नेपालमा दर्ता भएका विदेशी लगानीकर्ताले आफ्ना जग्गा खरिद बिक्री गर्नसक्ने भन्दै स्वदेशी र विदेशी लगानीकर्ताबीच कुनै पनि प्रकारको विभेद नरहेको र निजी उद्योगलाई राष्ट्रियकरण गर्ने कुनै नीति नभएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्रीले सन् २०१६ मा आफ्नो भ्रमणका क्रममा चीनसँग भएको व्यापार तथा पारवहन सम्झौताले आर्थिक विकासको पूर्वाधार खडा गर्ने र दुवै मुलुक सीमापार आर्थिक क्षेत्र तथा रेलमार्ग अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामी दुई असल छिमेकी मात्रै होइनाँै । विश्वसनीय विकास साझेदार पनि हौँ । हामी चीनको आर्थिक र प्रविधिका क्षेत्रमा विकास भएका नवीनतम् क्षमताको सहयोगबाट नेपालले विकासको परिदृश्यमा आफूलाई परिणत गर्न सक्नेछौँ ।
चीनका राष्ट्रपति सी जिन पिङको दूरदृष्टिमा आधारित ओबर परियोजनामा नेपाल जोडिएको र यस प्रयासले आफूहरुलाई दुई देशबीचमा सहयोग र सहकार्यका प्रचुर सम्भावनालाई आमन्त्रण गरिरहेको बताउँदै प्रधानमन्त्रीले नेपालमा चिनियाँ पर्यटकको आकर्षणप्रति खुशी व्यक्त गर्नुभयो ।


