![]()
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल आगमनसंगै सत्तारुढ दुई ठूला दल नेकपा एमाले र माओवादी केन्द्रबीच तीतो बढेको मात्र होइन सरकार संचालनमासमेत खटपट उत्पन्न भएको छ । यसले दुई पार्टीबीचको एकता प्रक्रियालाई समेत संकटमा पारेको चर्चा चलेपछि त्यसलाई असत्य सावित गर्न दुवै पार्टीका अध्यक्ष क्रियाशिल भएका छन ।
दुवै पार्टीका दोस्रो तहका नेताहरुले आ–आफना अध्यक्षलाई बैठक बस्न दबाब दिएपछि बुधवार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भयो । छलफलमा दोस्रो तहका नेताहरु पनि सहभागि थिए ।
बैठकमा एक हप्ता भित्रै पार्टी एकताको घोषणा गर्ने सहमति भएको छ । यसका लागि बिहीबार पार्टी एकता संयोजन समितिको बैठक पनि आह्वान गरिएको छ । एकीकरणका लागि नेताहरुको व्यवस्थापनको बिषय टुंगो नलाग्दै एक हप्ता भित्र कसरी एकता घोषणा हुन्छ त्यो अचम्म लाग्दो भएको छ । त्यसैमा मोदी भ्रमणकाबेला दुई पार्टीबीच बढेको तीतो र संसदमा माओवादी प्रवक्ता पम्फा भुषालले उठाएका सवालका बिषयमा एमाले पङ्ती वा भनौ प्रधानमन्त्रीबाट कुनै जवाफ आएको छैन । यसकारण एक हप्ता भित्रै पार्टी एकताको घोषणा हुने सम्भावना न्युन हुँदाहुँदै समयावधि नै तोकेर एकताको घोषणा गर्ने भन्नु आत्तिएका कार्यकर्तालाई आश्वासन मात्र हो । उनीहरुमाथि कति दबाब परेको छ यो त्यसैको उदाहरण हो ।
बैठक सकिएपछि आपसमा हात मिलाएर देखाउन जरुरी थिएन । आपसमा विवाद छैन भन्ने देखाउन यसो गरिएको भएपनि दुई पार्टीबीच विवादको दायरा बढ्दै गएको प्रष्ट छ ।
यसअघि पनि पटक–पटक एकताको मिति घोषणा गरिएपनि अन्तिम समयमा रद्द भएका थिए ।


