![]()
काठमाडौ,बैशाख ।
युएईबाट नेपाल आएको ३३ किलो सुनकाण्डको चर्चा अझै सेलाएको छैन् । पूर्वडीआईजी, बहालवाला एसपी, सई लगायतलाई कर्तव्यज्यान र संगिठत अपराधको मुद्दा दर्ता भएपछि यो घटना पूर्वआईजीपीसम्म पुगेको छ । आफ्नै पूर्वसहकर्मी सनमको शव बोकाएर गोरेले प्रहरीसामु पठाएको गाडी र सनमसहित चारजनालाई जंगलमा राखेर करेन्ट दिन प्रयोग गरिएको १२ भोल्टको ब्याट्रीसहितका सामानको तस्बिर सार्वजनिक भएको छ ।
दुबईबाट विमानस्थल आएको साढे ३३ किलो सुन विमानस्थलबाट अनामनगर पुग्नासाथ हरायो । गोरेले शंका आफ्नै पूर्वसहकर्मी सनम शाक्यलाई गरे । गोरेले पिछा गरेपछि डरले भागेर सनम आसाम पुगे । तर, भेट्न नआएमा उर्लाबारीमा भएका आमाबुबा, श्रीमति सबैलाई सखाप पार्ने भन्दै गोरेले धम्की दियो ।
सनमले गोरे समूहलाई पश्चिम बंगालको सिलिगुढीमा भेटेर सुन आफूले गायब नबनाएको स्पष्टिकरण दिए । तैपनि सुन खोज्ने जिम्मा उनलाई लगाइयो । सुन नभेटिएको भनेर फेरि उनलाई नियन्त्रणमा लिएर मोरङको उर्लाबारीस्थित जंगलमा लगेर यातना दिन थालियो । १२ भोल्टको ब्याट्रीबाट करेन्ट लगाएर यातना दिँदा सनमको मृत्यु भयो । त्यसअघि एकजना र पछि अर्को गरी यो घटनासँग सम्बन्धित ३ जनाको मृत्यु भएको छ ।
तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएको ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्याल पनि छानबिन समितिको दायरामा परेका छन् । यस विषयमा गृह मन्त्रालयले छानबिन गर्न बनाएको समितिले अर्यालसँग पनि बयान लिने भएको छ । बयानका लागि छिट्टै उनलाई समितिमा बोलाइने स्रोतले जनाएकोछ ।


