![]()
बीबीसी । सामाजिक सञ्जाल फेसबुकले सन् २०१८ को पहिलो त्रैमासिकमा गएको वर्ष भन्दा धेरै मुनाफा भएको जनाएको छ । प्रयोगकर्ताको व्यक्तिगत विवरणको सुरक्षा गर्न नसकेको गम्भीर आरोप र त्यसको स्वीकारोक्तिपछि पनि फेसबुकको कारोबार यो वर्षको पहिलो त्रैमासिकमा गएको वर्षको यहि अवधि भन्दा ५० प्रतिशत कारोबार बढी भएको फेसबुकले जनाएको छ ।
फेसबुकले यो वर्षको पहिलो त्रैमासिकमा ११.९ बिलियन अमेरिकी डलर भन्दा बढी आम्दानी भएको जनाएको छ । गएको वर्षको यहि अवधिमा फेसबुकले ८ बिलियन अमेरिकी डलर आय गरेको थियो ।
फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले भनेका छन्, ‘अहिलेसम्मकै ठूलो चुनौतीको सामना गर्नु परे पनि हाम्रो समुदाय र व्यवसायले वर्ष २०१८ मा बलियो सुरुवात गरेको छ ।’ उनले आफूहरु अहिले विस्तृत पुनरावलोकनको क्रममा पनि रहेको उल्लेख गरेका छन् ।
फेसबुकले यो वर्षको पहिलो तीन महिनामा विज्ञापनबाट मात्रै ११.७ बिलियन अमेरिकी डलर आए भएको जनाएको छ । गएको वर्ष यहि अवधिमा यो ७.८ बिलियन अमेरिकी डलर थियो ।
यस्तै पहिलो त्रैमासिकमा आम्दानीसँगै कम्पनीको मुनाफा पनि बढेको छ । यो वर्ष मुनाफा ४.९ बिलियन अमेरिकी डलर रहेको फेसबुकले जनाएको छ । गएको वर्षको पहिलो त्रैमासिकमा फेसबुकले ३ बिलियन अमेरिकी डलर मुनाफा गरेको थियो ।


