![]()
बीबीसी । उत्तर कोरियाली नेता किम जङ अनले सबै क्षेप्यास्त्र परीक्षणहरू स्थगित गर्ने र तत्काल लागू हुने गरी एउटा पारमाणविक परीक्षण केन्द्र बन्द गर्ने बताएका छन्।
कोरियाली सेन्ट्रल न्यूज एजेन्सीले भनेको छ, “एप्रिल २१ बाट उत्तर कोरियाले पारमाणविक र अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण बन्द गर्नेछ।“
सरकारी सञ्चारमाध्यमका अनुसार उक्त निर्णयको उद्देश्य शान्ति तथा आर्थिक वृद्धि हासिल गर्ने रहेको छ। किमले आफ्ना दक्षिण कोरियाली समकक्षी मून जे इनसँग आउने हप्ता भेटवार्ता गर्दैछन्। उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि आउँदो जुनमा एउटा अभूतपूर्व शिखर बैठक गर्ने अपेक्षा गरिएको छ।
क्षेप्यास्त्र परीक्षणहरू बन्द गर्ने किमको घोषणापछि ट्वीट गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका छन, “यो उत्तर कोरिया र विश्वकै लागि एकदम सुखद खबर हो। ठूलो प्रगति!“
यसअघि बिहीवार ट्रम्पले उत्तर कोरिया “निश्शस्त्रीकरणमा गए उसका लागि उज्यालो बाटो उपलब्ध हुने“ बताएका थिए। बिहीवार नै दक्षिण कोरियाली राष्ट्रपति मूनले उत्तर कोरिया “पूर्ण रूपमा निश्शस्त्रीकरणका लागि तयार रहेको“ बताएका थिए।
उनले दुई कोरियाबीच हुने शिखर बैठकले “ठूलो कल्पना गर्नुपर्ने र रचनात्मक समाधान खोज्नुपर्ने“ बताए। मूनले ट्रम्प र किमबीच तय भएको शिखर बैठक सफल हुने पनि बताए।


