![]()
बिराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पर्यटन उद्योगका माध्यमबाट भारतसँगको व्यापार घाटा कम गर्न सकिने बताउनुभएको छ ।
विराटनगरमा चार तारे बिग होटलको उद्घाटन गर्दै नेता खनालले भारतमा नेपालको हिमाली पदयात्रा लगायत धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न सके यस क्षेत्रमा पर्यटकको कुनै कमी नहुने बताउनुभयो । उहाँले नेपाल हिमाल, पहाड र तराई मिलेर बनेको, सबै प्रकारको जैविक विविधता भएको, उपयुक्त हावापानी र प्राकृतिक सौन्दर्यले भरिपूर्ण देश भएकाले यहाँका पर्यटकिय विविधताबारे प्रचारप्रसार गरी पर्यटक आकर्षित गर्न सकिने धारणा राख्नुभयो ।
वरिष्ठ नेता खनालले मुलुकको विकासका लागि जलश्रोत, कृषी, पर्यटन र मुलुकको मौलिक कला संस्कृतिको प्रवद्र्यन मुख्य बिषय रहेको औंल्याउनुभयो ।
विराटनगर–जोगवनी रोडमा अवस्थित आठ कट्ठा १० धुर जग्गामा रु ३० करोडको लागतमा निर्मित उक्त होटलमा ५३ वातानुकूलित कोठा रहेका छन् । छ तल्ले होटलमा स्वीङपुल, दुई वटा लिफ्ट र पर्यटकको चाहनाअनुसार तीन वटा स्विट कोठाको समेत व्यवस्था गरिएको छ ।


