![]()
भक्तपुर । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले हर्षोल्लासका साथ सिन्दूर खेलेर ३२ खट जात्रा अर्थात् सुथः सिया जात्रा मनाएका छन् ।
थिमिका टोलटोलबाट विभिन्न देवताका मूर्ति खटमा विराजमान गराई खट बोकेर सिन्दूर खेल्दै पूजाआजाका साथ सो जात्रा मनाइन्छ । थिमिमा मात्र मनाइने सो जात्रामा एकार्कालाई सिन्दूर दलेर स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ल्याइन्छ । बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो ।
जात्रा शुरु भएपछि पमा जात्रा चलाउने नाइकेका सहयोगीहरुले हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमति लिई बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरी विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीको खट ल्याएर जात्रा मनाइएको छ ।
आइतबार नै अपराह्न थिमिको जिब्रो छेड्ने जात्रा शुरु हुँदैछ । बोडेका ४६ वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले जिब्रो छेड्दै छन । उनले यसअघि पाँच पटक जिब्रो छेडिसकेका छन् ।


